Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना :   सतर्कता अपनाउन आग्रह


सूचना कुण्ड
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना :   सतर्कता अपनाउन आग्रह



काठमाडौँ, साउन१ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।    
    
 महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताउनुभयो । “मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।”    
    
 महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । “आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, बुलेटिनमा भनिएको छ, “बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”    
    
 आज देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।    
    
 महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।    
    
 बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend