काठमाडौँ, भदौ १ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् । पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो ।
दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीयलाई अत्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । ‘बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ । एक जना बेपत्ता छन् । दिउँसोको घटना हुनाले ठूलो मानवीय क्षति भने हुन पाएन,’ उनले भने । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए । डीएसपी अधिकारीका अनुसार बाढीले क्षति गरेका सातवटा घर ढल्ने अवस्थामा छन् ।
प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेका अनुसार बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।
डीएसपी घिमिरेले थामेमा रहेका प्रहरीसँग समेत आफूहरूको सञ्चार सम्पर्क विच्छेद रहेकाले घटनास्थलबारे विस्तृत विवरण थाहा हुन नसकेको बताए । ‘न टेलिफोन चल्छ, न त हाम्रो सञ्चार सेटले नै काम गरेको छ,’ उनले भने ।
खोला थामेमा आएको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने ओर्लाङघाटको पुलको एउटा भाग भासिएको हो । प्रहरीका अनुसार अब मर्मत नगरी उक्त पुलमा गाडी चल्न सक्दैन । उक्त पुल दुवै गाउँपालिकाले संयुक्त लगानीमा मितेरी पुलका रूपमा निर्माण गरेका थिए । दूधकोशीको उच्च बहावले जोरसल्लेमा २ सय मिटरभन्दा बढी पैदलमार्ग बगाएको छ ।
पालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाका अनुसार थामेको जनसंख्या ३ सय ७० हो । तर पर्यटकीय समय नभएकाले अहिले आधाभन्दा बढीको बसाइ काठमाडौं लगायत अन्य ठाउँमा छ । प्रहरीका अनुसार बाढीपछि थामेका ९३ जना, स्थानीय विद्यालयको छात्रावासमा रहेका आठ शिक्षक, दुई कर्मचार र ३२ विद्यार्थीसहित १ सय ३५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पीडितका लागि स्थानीय सरकारले राहतको योजना बनाउन थालेको छ । ‘ठूलो विपद् आइपरेको छ, हामी प्रभावकारी राहत वितरणको प्याकेज बनाउँदै छौं,’ गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले कान्तिपुरसँग भने ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसमले साथ दिए शनिबार काठमाडौंबाट एउटा टोली हेलिकोप्टरमा जोखिमयुक्त स्थानमा पठाइने बताए । उनका अनुसार राहत सामग्री लिएर जाने उक्त टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अध्ययन गर्नेछ । ‘पहिलो काम राहत लिएर जाने हो । त्यसपछि टोलीले प्रारम्भिक अध्ययन गरेर त्यहाँ थप जोखिम छ कि छैन भन्ने हेर्छ,’ उनले भने । स्थानीय प्रशासनका साथै प्रहरीले थामेमा जोखिमको अवस्था कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
प्रहरीका अनुसार बाढीको सतह साँझ केही घटेको छ । थामेबाट करिब ८२ किलोमिटर तल रहेको जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रमा जलसतह साँझ ५:१० बजे एक्कासि १.२० मिटर बढेको थियो तर आधा घण्टामै जलसतह घट्न थालेको थियो । ‘रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम हुने नदेखिए पनि दूधकोशीको नदीतटीय क्षेत्रमा भोलि (शनिबार) बिहानसम्म सतर्कता अपनाइराख्न उपयुक्त हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।
सुमद्र सतहबाट ३ हजार ८ सय मिटरमा रहेको थामेमा कसरी अचानक बाढी आयो भन्नेबारे केही खुलेको छैन । थामे खोलाको शिरमा रहेका ससाना हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता शेर्पाको आकलन छ । ‘थामे खोलाको शिरतिर ससाना ताल छन्, ती फुटे कि कुनै पहाड झरेर खोला थुनिएपछि बाढी आयो भन्ने यकिन भएको छैन,’ उनले भने । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार थामे नजिक रहेको फोर्त्सेकेन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको थियो । साउन २५ देखि दैनिक औसत तापक्रम पनि बढेको (९.७ बाट ११ डिग्री सेल्सियस) थियो । बिहीबारको औसत तापक्रम १५.९ डिग्री पुगेको थियो । ‘निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेको हिमताल विस्फोट भएको हुन सक्छ,’ महाशाखाले भनेको छ ।
सगरमाथा क्षेत्रमा दशकदेखि नै हिमनदी र हिमतालको अध्ययन गर्दै आएका मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरी सुक्खा पहिरो गएर वा हिमपहिरोले खोला छेकिएपछि बाढी आएको हुन सक्ने बताउँछन् । त्यस क्षेत्रमा ताल फुटेर बाढी आउने सम्भावना भने कम रहेको उनको विश्लेषण छ ।
थामे तिब्बत जाने मार्गमा पर्ने शेर्पा बस्ती हो । चीन जोड्ने नेपालको नाङपाला नाका यही थामे हुँदै पुगिन्छ । थामेबाट नाङपाला पुग्न २ दिन हिँड्नुपर्छ । नाम्चे पुगेका ३० प्रतिशत पर्यटक थामे जाने गर्छन् । उनीहरू शरीरलाई वातावरणअनुकूल बनाउन पनि नाम्चेपछि थामे गएर बस्ने गरेका छन् । ५ हजार ३ सय ४५ मिटर उचाइमा रहेको रेन्जोला पार गर्न पनि पर्यटकले थामे पुग्नैपर्ने हुन्छ । ‘सिजनमा थामे पर्यटकले भरिभराउ हुन्छ,’ नाम्चेका लामाकाजी शेर्पाले भने, ‘अहिले अफसिजन भएकाले त्यहाँका अधिकांश मानिस घरमा कुरुवा राखेर काठमाडौं गएका छन् ।’ उनका अनुसार बाढीले बगाएका १२ घरमध्ये अधिकांशमा होटल थिए ।
प्रख्यात आरोही आप्पा शेर्पाको गाउँ थामेका अधिकांश युवा अहिले पनि आरोहण पेसामै संलग्न छन् । त्यहाँका बासिन्दा आलु खेती र चौंरीपालन व्यवसायमा पनि संलग्न छन् । स्थानीयका अनुसार ३० वर्षपहिले पनि थामेमा यस्तै खाले बाढी आएको थियो । थामेकै पारि दोलखाको रोलवालिङ खोलामा गत असार २१ को राति अचानक आएको बाढीले ८ घर बगाएको थियो । बाढीमा परी एक जना बेपत्ता भएका थिए । बाढीका कारण रोलवालिङ पदमार्गमा पर्ने डोवाङमा क्षति पुगेको थियो । उक्त बाढीको कारण अझै पत्ता लागेको छैन ।
---
