काठमाडौँ असोज , ३० : विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को परिकल्पनामा सगरमाथा क्षेत्रमा निर्माण गरिएको ‘प्रोजेक्ट होराइजन–अ न्यू पोर्टर हाउस फर लोबुचे’ ले बेलायतमा आयोजित ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’मा ‘कम्युनिटी इम्प्याक्ट’ विधामा ‘हाइली कमेन्डेड’ अवार्ड प्राप्त गरेको छ ।
उक्त परियोजनाले हिमाली क्षेत्रमा काम गर्ने भरियाको सुरक्षा, आराम र कल्याणका लागि गरेको प्रयासबापत अन्तर्राष्ट्रिय पहिचान पाएको प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा (डेभिड)ले बताए ।
सगरमाथा क्षेत्रमा ५ हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले पदयात्रा तथा पर्वतारोहणका क्रममा भारी बोक्ने भरियालाई सुरक्षित आश्रय र विश्रामको सुविधा उपलब्ध गराउँछ ।
प्रतिकूल मौसम र कठिन भौगोलिक परिस्थितिमा काम गर्ने भरियाका आधारभूत आवश्यकता र सुरक्षालाई ध्यानमा राखेर परियोजना अघि बढाइएको हो । निम्सदाइको परिकल्पना र नेतृत्वमा सुरु भएको परियोजना निर्माणमा इन्जिनियर, स्थानीय कामदार, भरिया, समुदाय, दाता तथा साझेदार संस्थाको सहभागिता थियो ।
पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका पुर्जाले हिमाल आरोहणका क्रममा आरोहीलाई सहयोग गर्ने श्रमिकको सुरक्षा र सम्मानलाई प्राथमिकता दिनुपर्ने अवधारणासहित यो परियोजना अघि बढाएका हुन् । निम्सदाइ फाउन्डेसनले अवार्डलाई हिमाली समुदायको हितमा गरिएको प्रयासको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले यो परियोजनाले अन्तर्राष्ट्रिय सम्मान पाउनु नेपालका लागि गौरवको विषय भएको जनाएका छन् ।
