स्टकहोम असोज २२ : क्यानडेली लेखिका तथा कवि एन कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । आयोजक स्विडिश एकेडेमीले बिहीबार यो वर्षको प्रतिष्ठित पुरस्कारको घोषणा गरेको हो ।
शास्त्रीय परम्परासँगको चञ्चल र सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक तथा आविष्कारक लेखन शैलीका लागि यो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ। पुरस्कारको राशि झन्डै १२ लाख अमेरिकी डलर रहेको छ ।
कविता, गद्य, संवाद र अनुवादको एक अनौठो र विधागत सीमा तोड्ने समिश्रणका रुपमा ७६ वर्षीया कार्सनको लेखनशैलीलाई लिइन्छ प्राचीन ग्रीक साहित्यको अनुवादमा ख्याति कमाएकी उनको लेखनमा त्यसको गहिरो प्रभाव पाइन्छ । सन् १९९८ को उपन्यास ‘अटोबायोग्राफी अफ रेड’ उनको निकै चर्चित कृति हो । उनको विशिष्ट शैली सन् २०१९ को ‘नर्मा जीन बेकर अफ ट्रोय’ मा पनि झल्किन्छ । युरिपिडिजको प्राचिन नाटक ‘हेलेन’ मा उल्लेखित ट्रोयकी हेलेन र मर्लिन मनरोको कथालाई मिसाएर यो कृति तयार गरिएको थियो ।
कार्सनको यो जितसँगै उनी अलेक्जेन्डर सोल्झेनित्सिन, एलिस मुनरो र अर्नेस्ट हेमिङवे जस्ता विश्वप्रसिद्ध साहित्यकारहरूको सूचीमा जोडिएकी छिन् । डाइनामाइटका आविष्कारक तथा व्यवसायी अल्फ्रेड नोबेलको इच्छापत्रअनुसार स्थापित स्विडिश एकेडेमीले हरेक वर्ष साहित्य, विज्ञान र शान्तितर्फ नोबेल पुरस्कार प्रदान गर्दै आएको छ । सन् १९०१ देखि नै लगातार विभिन्न विधामा पुरस्कारहरु दिइन्छ । रोयटर्स
