काठमाडौँ, असोज १७ : प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भएको छ । अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयकसहित १२ विधेयक पारित गरेको छ ।
गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा भए/गरेका कामकारबाहीका बारेमा शुक्रबार जानकारी दिनुभएको हो ।
यसबिचमा वैशाख २८ र जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो भने त्यसमा दुई घण्टा ५५ मिनेट समय व्यतित भएको थियो ।
अधिवेशनको पहिलो बैठकमा सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण निवारण, केही नेपाल ऐन संशोधन, सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रस्तुत भएका थिए । तीमध्ये चार अध्यादेश असार ५ गतेको बैठकबाट स्वीकृत भएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाले वैशाख २८ गते धन्यवादको प्रस्ताव पारित गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल गरी वैशाख ३१ गते सर्वसम्मतिबाट पारित गरिएको थियो ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भई गत जेठ १७ गते संशोधनसहित बहुमतबाट पारित भएको थियो । आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि गत जेठ ४ र ५ गते छलफल भएको तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो । आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पनि सदनमा प्रस्तुत गरिएको थियो ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथि जेठ २७ र २८ गते छलफल सम्पन्न भएको थियो । त्यसपछि विनियोजन विधेयक, २०८३ माथि असार १ र २ गते दफावार छलफल भई सम्बन्धित मन्त्रीहरूले गत असार ३ र ४ गते जवाफ दिनुभएको थियो । असार ४ गते नै विधेयक बहुमतबाट पारित भएको थियो ।
