Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

दसैँमा घर फर्कनेको चाप


सूचना कुण्ड
दसैँमा घर फर्कनेको चाप

काठमाडौँ, असोज ३० :  दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   

विशेष गरी सार्वजनिक सवारीमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँमा बसोबास गर्दै आएका परिवारको ठुलो सङ्ख्या दसैँ मनाउन जिल्ला फर्किएका छन् । नयाँ बसपार्कबाट विभिन्न जिल्ला जाने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीको चहलपहल ह्वात्तै बढेको छ । 

अन्य समयमा दैनिक करिब दुई सय सार्वजनिक बस नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने र आउने हुन्थ्यो तर दसैँ लागेसँगै बसको सङ्ख्या दैनिक ४५० पुगेको नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुको चाप बढेको छ । टिकट पाइरहेका छन् । गाडी नपाउने समस्या छैन । कात्तिक १ गतेपछिको अग्रिम बुकिङ त्यति धेरै छैन ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकामा यात्रु र सवारीको चाप बढेको जनाएको छ । नागढुङ्गा, भक्तपुरको जगाती, माछापोखरी, बल्खुलगायतका नाकामा सवारी चाप बढेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अष्टमीका दिनसम्म यात्रुको चाप दोब्बरले बढ्ने बताउनुभयो । गोङ्गबु बसपार्कबाट दैनिक २५० माइक्रो बस बाहिरिएका छन् । यो सङ्ख्या सामान्य दिनको तुलनामा दोब्बर हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आधिकारिक काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न आग्रह गरेको छ । दसैँका अवसरमा सवारी र यात्रुको चाप बढ्ने हुँदा ठगी तथा कालोबजारी हुने सम्भावना भएकाले सुरक्षित यात्राका लागि टिकट अनिवार्य लिन आग्रह गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो । 

राजमार्गका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताएको महासङ्घले जनाएको छ । बर्सातले भत्किएका राजमार्ग र ट्राफिक जामका कारणले सवारी तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्दा काटिएका अग्रिम टिकट अनुसार समयमै बस सञ्चालन गर्न कठिनाइ भइरहेको महासचिव गौतमको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend