Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

  सुपारीसँगै फस्टायो मरिच खेती  


सूचना कुण्ड
  सुपारीसँगै फस्टायो मरिच खेती  

सूचनाकुण्ड समाचारदाता
झापा,  पुस१४ : सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् ।    
    
 थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरिच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रमा मरिचको खेती बढिरहेको छ ।    
    
 मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिहेक्टर एक हजार पाँच सय किलोका दरले मरिच उत्पादन हुन्छ ।     
    
 ज्ञान केन्द्रकै तथ्याङ्कका आधारमा यहाँका किसानले मरिच बिक्री गरेर वर्षेनी रु दुई करोड ७० लाख आर्जन गरिरहेका छन् । धेरैजसो मरिच भारतीय व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । बुद्धशान्ति गाउँपालिकाका नेत्र सङ्ग्रौलाले झापामा मरिचखेती गर्ने पहिलो किसान आफू भएको बताउनुभयो ।    
    
 उहाँले विसं २०४० देखि मरिचको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । उहाँको डेढ बिगाहा जमिनमा अहिले मरिच लहरिएको छ । “पोहोर साल सुपारीको बोटमा लगाएको मरिच १० हजार किलो फल्यो”, उहाँले भन्नुभयो, “समयमा सिँचाइ गर्न पाएको भए दोब्बर फल्थ्यो, कतैबाट सहयोग पाइँदैन, आफ्नै बलबुतामा यति फलाइयो ।”    
    
 पोहोर प्रतिकिलो रु नौ सयमा बिक्री भएको मरिच यसपाली रु एक हजार दुई सयका दरले बिक्री भइरहेको छ । रु नौ लाखमा मरिच बेचिसकेको उहाँले जानकारी दिनुभयो । चालीस वर्ष अघि रोपेको मरिचका बोटले अहिलेसम्म उत्पादन दिइरहेको उहाँले बताउनुभयो । नयाँ बिरुवा हुर्काएको तीन वर्षपछि मरिच फल्न थाल्छ ।    
    
 किसानको आकर्षण बढे पनि सरकारी निकायले खेती प्रवद्र्धनमा खासै सहयोग नपुर्याएको किसानहरुको गुनासो छ । सरकारी प्रोत्साहन हुने हो भने मरिचखेतीको विस्तार हुने सङ्ग्रौलाले बताउनुभयो ।    
    
 मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान निलकण्ठ तिवारीले एउटै बोटमा पाँच किलोसम्म मरिच फलाएको बताउनुभयो । उहाँले दुई सय ५० सुपारीका बोटमा मरिच लगाएको जनाउँदै वार्षिक रुपमा दुई सय किलो उत्पादन भइरहेको जानकारी दिनुभयो । “मरिचका आधा जति बोट मरिसके”, उहाँले भन्नुभयो, “के रोग लागेको हो, पत्तो हुँदैन, विज्ञ प्राविधिक छैनन् ।”    
    
 मेचीनगरको वडा नं ४ मा घरैपिच्छे सुपारीखेती र सुपारीको बोटैपिच्छे मरिचका लहरा देख्न पाइन्छ । स्थानीय कृषक युवराज गिरीले वर्षेनी दुई सय किलो मरिच फलाउने गरेको बताउनुभयो ।    
    
 मरिचखेतीमा अरु जस्तो धेरै झञ्झट गर्नु नपर्ने र उत्पादनको बिक्रीका लागि बजारको कुनै समस्या नभएको उहाँको अनुभव छ । सुपारी बाहेक, आँप र अरु प्रजातिको रुखमा पनि मरिच लहराउने उहाँले जानकारी दिनुभयो ।    
     
 नेपालमा इण्डोनेसिया, श्रीलङ्का लगायतका तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । तेस्रो मुलुकबाट आएको मरिचका कारण स्वदेशी मरिचले भनेजस्तो मूल्य नपाएको किसान बताउँछन् ।    
    
 “मूल्यका हिसाबले मरिच कालो सुन हो”, कृषक तिवारीले भन्नुभयो, “यसको व्यावसायिक उत्पादनलाई सरकारले प्रोत्साहित गर्ने हो भने धेरै किसान मरिचखेतीमा लाग्ने थिए, मुलुकमा आर्थिक समृद्धि ल्याउन मरिचले मदत्त पुर्याउने थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend