Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला


सूचना कुण्ड
पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला

मुस्ताङ, जेठ १६ :  हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा हालका लागि व्यक्तिगत रूपमा खानाको व्यवस्थापन गरी यात्रा गर्न खुला गरिएको हो ।

वडा अध्यक्ष ज्याङ छेसा गुरुङले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गहरूको मर्मत गरी खुला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही भक्तजन दर्शनका लागि गइसक्नुभएको छ, अब बिस्तारै धार्मिक पर्यटकको चाप बढ्छ ।”

वडा अध्यक्ष गुरुङका अनुसार आगामी जेठ २२ गतेदेखि दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा निःशुल्क भोजनसहितको सुविधा साउन महिनासम्म उपलब्ध हुने छ । यारा गाउँका ६५ वर्षीय डण्डु गुरुङले उक्त धर्मशाला सञ्चालन गर्दै आउनुभएको छ । दामोदरकुण्डको दर्शनका लागि जाने भक्तजनलाई लक्षित गरी सडक तथा पदमार्गसमेत मर्मत गरिएको छ । कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै उपल्लो मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी यात्रामा झुमा ठाँटीसम्म पुगिन्छ । बाटो असहज भएकाले त्यहाँबाट तीर्थालुहरूले घोडा सयर गर्ने गरेका छन् ।

घोडा र पैदल यात्राबाट दामोदरकुण्डको यात्रा कठिनपूर्ण छ । दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको मातहतमा रहेको छ । पैदल यात्रामा समस्या हुनेहरूका लागि दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपियाँसम्म शुल्क तोकिएको छ । गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा निःशुल्क भोजन तथा आवासको सुविधा दिएपछि पछिल्लो समय तीर्थयात्री र पर्यटकलाई सहज भएको समितिका अध्यक्ष टासी गुरुङले बताउनुभयो । समितिले लेक लागेको अवस्थामा भक्तजन र पर्यटकको उद्धार तथा औषधि उपचारमा समेत सघाउने गरेको छ ।

दामोदरकुण्ड मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान भएकाले यहाँ मात्र पाइने शालिग्राम शिला पाइन्छ । कुबेरका छोराहरूले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता छ । यस क्षेत्रबाट लगेको शालिग्राम शिला घरको मन्दिरमा राख्दा पुण्य कमाइने जनविश्वासका कारण तीर्थालुहरूले यहाँबाट शिला र जल लिएर जाने गर्छन् । दामोदरकुण्डमा चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड गरी तीन वटा जलाशय छन् । यीमध्ये मुख्य कुण्ड चक्रकुण्ड हो । चक्रकुण्ड र दूधकुण्ड एकै स्थानमा छन् भने तामाकुण्ड करिब १०० मिटरको दूरीमा छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend