Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

छठमा सिङ्गारियो काठमाडौँ   


सूचना कुण्ड
छठमा सिङ्गारियो काठमाडौँ   


सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, मङ्सिर३  :  साह ललितपुरको कुपण्डोल नजिकै वाग्मती नदी किनारमा बत्ती जडान गर्दै हुनुहुन्थ्यो । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउनुहुन्छ । नदी किनारमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावटको जिम्मेवारी यसपटक पनि उहाँ आफैले लिनुभएको छ । “हरेक वर्ष छठमा यहाँ बत्ती जडान मैले नै गर्दैै आएको छु”, उहाँले भन्नुभयो, “यसपाली पनि मैले नै जिम्मेवारी लिएर काम गरेको छु ।”    
    
 साहसँगै विराटनगरका रमेश अग्रवाल पनि छठको तयारीमा व्यस्त देखिनुहुन्थ्यो । छठ पूजाका लागि वाग्मती नदी किनारमा बालुवा मिलाउँदै उहाँले भन्नुभयो, “म विगत ३० वर्षदेखि थापाथली घाटमा छठ पूजा गर्दै आएको छु ।” अग्रवाललाई काठमाडौँका प्रदीप गिरीले साथ दिइरहनुभएको थियो ।    
    
 उहाँहरु नजिकै पाल टाँगिरहनुभएका उदयपुरका प्रवेश परियारको व्यस्तता पनि कम थिएन । पाल कस्दै परियारले आफूले पछिल्लो तीन वर्षयता छठ पूजाका लागि यहाँ पाल बनाउँदै आएको सुनाउनुभयो ।    
    
 आरके रेन्टल एण्ड टेण्ट हाउसमार्फत १५ भन्दा बढी मजदुर छठ पूजाको तयारीका लागि पूजास्थल बनाउन जुटिरहनुभएको थियो । बत्ती जडान र गेट बनाउनेलगायतका काममा उल्लेख्य सङ्ख्यामा मजदुर खटिएका छन् । सजावटको काम सकिएपछि सो स्थानमा छठी माताको मूर्ति पनि राखिनेछ ।    
    
 छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले छ सय हाराहारी बर्तालुको व्यवस्थापन हुने गरी छठ पूजाको तयारी गरिएको बताउनुभयो ।    
    
 संयोजक झाले भन्नुभयो, “पाल टाँगेर बत्ती सजावटको काम सकिएको छ । छठी माताको पूजा गरी रातभर जाग्राम बस्ने भक्तजनको व्यवस्थापनको काम गरिरहेका छौँ, गत वर्षको तुलनामा यसपटक भक्तजन बढ्ने अनुमान गरिएको छ ।”    
    
 काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो र ऐतिहासिक छठ पूजा समितिका रुपमा दर्ता भइ हरेक वर्ष छठ पूजा आयोजना गरिदै आएको संयोजक झाको भनाइ छ । कुपण्डोल पुलदेखि पश्चिमतर्फका वाग्मती नदी किनारमा १५ वर्षदेखि छठ पूजा गर्दै आइएको समितिले जनाएको छ ।    
    
 पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ । तराई–मधेसमा मात्र नभई मुलुकका सबै भू–भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । विभिन्न समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै गर्दा छठ साँझा पर्वका रुपमा विकास भएको छ । छठ पर्वले सामाजिक सद्भाव कायम गर्दै आपसी भाइचारा अभिवृद्धिमा महत्पूर्ण योगदान दिएको छ ।    
    
 छठ सबै समुदायको साझा पर्वका रुपमा मानिदै आएको समितिका संयोजक झाको भनाइ छ । “काठमाडौँमा छठ पर्व चिनाउने भनेकै यही छठ पूजा समितिले हो । उपत्यकाका सबै समुदायका मानिस आएर यहाँ सौहार्दपूर्ण वातावरणमा पूजा गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो ।    
    
 छठ पूजा समितिका अनुसार भोलि आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुले कुपण्डोलस्थित छठ पुजास्थल पुगी छठी माताको दर्शन तथा पूजा आराधना गर्ने कार्यक्रम छ । छठ पर्वको मुख्य दिन भोलि साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यससको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजाको तयारी गरिएको छ ।    
    
 नेपाली समाजमा कुरितीका रुपमा रहेको जातीय विभेद र छुवाछूत अन्त्य गर्ने पर्वका रुपमा पनि छठलाई लिइन्छ । “छठ पर्वमा सबैभन्दा ठूलो महत्व भनेको हामीले समावेशी सिद्धान्तका लागि राजनीतिक सङ्घर्ष गरिरहेका छौँ, यो पर्वभन्दा ठूलो उदाहरण अरु हुन सक्दैन । किनकी छठ पूजाको सामग्री र सामूहिक पूजा गरिन्छ । मधेसका डोम जातिले बनाएको बाँसबाट बनाइएका सामग्री, कुमालेको भाडाकुडा, किसानले उत्पादन गरेका तरकारी भनेपछि सामान्यदेखि सम्पन्न किसानको सामग्री प्रयोग, घाटमा पूजा गर्न आउनेले कुनै जात नसोध्ने भएकाले यो समावेशिताको प्रतीक हो”, संयोजक झाले भन्नुभयो ।    
    
 गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।    
    
 सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।    
    
 कात्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्व वर्षको दुईपटक चैत र कात्तिक महिनामा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।    
    
 श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हात्ती, ढकनी, घैला र नयाँ बर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।    
    
 रानीपोखरीमा उल्लासपूर्वक मनाइने यो पर्व २०७२ सालमा गएको भूकम्पपछि गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाइने गरिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।    
    
 गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताउनुभयो । “तराईका जिल्लामा मधेसी समुदायले मनाउनु यो पर्व पछिल्लो समयमा अन्य समुदायले पनि आस्थापूर्वक छठ पर्व मनाउने चलन बढेसँगै सांस्कृतिक विविधतामा एकता, सद्भाव बढाएको छ”, उहाँले भन्नुभयो ।    
    
 छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend