Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

भूकम्पका कारण करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति   


सूचना कुण्ड
भूकम्पका कारण करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति   

  
सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, कात्तिक २५: भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।    
    
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।    
    
उहाँका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उहाँको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।    
    
मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिनुभयो ।    
    
मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।    
    
उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।    
    
पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend