Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

 ‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’  -चन्द्रप्रकाश घर्ती, प्रमुख, भेरी नगरपालिका


सूचना कुण्ड
 ‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’  -चन्द्रप्रकाश घर्ती, प्रमुख, भेरी नगरपालिका

     
   सूचनाकुण्ड समाचारदाता 
  
काठमाडौँ, कात्तिक१८  :हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षतिग्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित सबै जना खुला चौर तथा सडकमा बसिरहनुभएको छ । राहतका लागि ध्यान केन्द्रित गरेका छौँ ।    
    
 भूकम्पबाट सबैभन्दा बढी भेरी नगरपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । नगरपालिकाको वडा नं १ र ३ मा बढी क्षति भएको छ । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । अझै केही शव सङ्कलनकै क्रममा छ । अझै १०/१५ वटा शव थपिन सक्ने देखिएको छ । भेरी नगरपालिकामा मात्रै ५५ देखि ६० जनाको मृत्यु भएको अनुमान गरिएको छ । एक सय ३४ जनाभन्दा बढी घाइते हुनुभएको छ ।    
    
 गए राति ११ः४७ मा भूकम्प गयो । हामी राति १२ बजेदेखि नै उद्धारमा खटियौँ । स्थानीय सरकार, जिल्ला सदरमुकाममा केन्द्रित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, युवालगायतको सहभागितामा उद्धार गर्‍याैँ । सबैको सामूहिक प्रयासबाट उद्धार सम्भव भयो । घाइतेको खोजी, प्रारम्भिक उपचार गरी थप उपचारका लागि सुर्खेत र नेपालगन्जका अस्पतालमा पठाउने काम बिहान ७ बजेसम्म गरिसकेका थियौँ । रातभर नसुती सबै टोली खटियौँ । सबैको सामूहिक प्रयासबाट त्यो सम्भव भयो ।    
    
 सम्पूर्ण घाइतेको उपचार भइरहेको छ । मृतकको शव परीक्षण जारी छ । परीक्षण भइसकेका शव परिवारको जिम्मा लगाइएको छ । मृतकको सङ्ख्या ठूलो भएकाले शव परीक्षणमा संलग्न चिकित्सक दबाबमा हुनुहुन्छ । अस्पतालमा औषधिको कुनै कमि हुन दिइएको छैन । सङ्घ र प्रदेशबाट चिकित्सकसहित औषधि प्राप्त भएको छ । सङ्घ र प्रदेश सरकारको सहयोगलाई हामी सम्मान गर्छौँ ।    
    
 अब राहतको तनाव भएको छ । विस्थापितलाई खाने बस्नेको व्यवस्था मिलाउन लागिएको छ । बेलुकी खुला आकाशमा कसरी सुताउने, के खुवाउने, कम्बल, त्रिपाल कसरी व्यवस्था गर्ने भनेर लागि रहेका छौँ । पूर्ण र आंक्षिक क्षति भएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ । भौतिक क्षतिको विवरण सङ्कलनका लागि वडा कार्यालयलाई परिचालित गरेका छौँ ।    
    
 मृतक र घाइतेको सङ्ख्या साँझसम्म पुष्टि भइसक्छ । भौतिक क्षतिको विवरण आउन केही दिन लाग्न सक्छ । वडा नं ४ मा रहेका पूराना घरहरु सबै क्षतिग्रस्त भएका छन् । अन्य घरमा पनि आंशिक क्षति पुगेको छ । घरमा फर्केर जान जनता चाहिरहेका छैनन् ।    
    
 पहिलो चरणमा प्रभावितलाई राहत विरतण गर्छौँ । पीडितलाई मलहमपट्टी लगाउँदै छौँ । त्यसपछि पुनःस्थापनामा ध्यान दिनेछौँ । राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरेका छौँ । नगरपालिकाले आफ्नो साधनस्रोत परिचालन गरी जनतालाई सहयोग गर्छ । सङ्घ र प्रदेश सरकारलाई पनि सहयोगको अनुरोध गरेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित क्षेत्रको अवलोकन गरेर फर्कनुभएको छ । विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ । ( कुराकानीमा आधारित)    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend