Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण


सूचना कुण्ड
जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

 सूचनाकुण्ड समाचारदाता 

भोजपुर, साउन १८:    हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।    
    
 वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उहाँको भनाइ छ ।    
    
“हामीले ‘एक वडा, एक पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको जलाधारको संरक्षणसँगै आवश्यक सिँचाइको व्यवस्थापन गर्ने हाम्रो मुख्य उद्देश्य हो । पानीका मुहानको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा पनि हो ।”    
    
यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिनुभयो । कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ । “यो काम वातावरणको संरक्षणको पक्षबाट निकै महत्त्वपूर्ण छ”, अध्यक्ष राईले भन्नुभयो, “जमिनलाई रिचार्ज गर्न यसले भूमिका खेल्दछ । कतिपय ठाउँका पानीका मुहान सुक्दै गएको अवस्था छ । यस्तै अवस्था रहे वर्षौंपछि पानीको हाहाकार बन्ने अवस्था छ । हामीले भावी दिनको आकलन गरेर यो अभियान सञ्चालन गरेका हौँ ।”    
    
पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिनुभयो ।    
    
 पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत गत आवमा नौ वटा पोखरी निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । एउटा पोखरी निर्माणको लागि रु एक लाख दिने गरेको उहाँले जानकारी दिनुभयो ।    
    
“यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासेपानी सङ्कलनको काम भइरहेको छ । यो कामले मुहानसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।”    
    
पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उहाँको भनाइ छ । तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।    
    
पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ । भविष्यमा देखा पर्नसक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend