Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच   


सूचना कुण्ड
महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच   

 सूचनाकुण्ड समाचारदाता 

तनहुँ, असार ३१ : भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ । तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् ।    
    
“के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन”, पाउदुरे नाच्दै गर्नुभएकी मनिषाले भन्नुभयो, “त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौँ ।”    
    
शुक्रबार विभिन्न क्षेत्रबाट आउनुभएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताउनुभयो । पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताउनुभयो ।    
    
“पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्”, उहाँले भन्नुभयो, “पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौँ ।” आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ ।    
    
पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो । विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ । यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ । छेउमा नाच्ने दुई पुरुषलाई ‘मारुनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ । नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ । बेला– बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ । देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ ।    
    
पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताउनुभयो । बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उहाँको भनाइ छ ।    
    
“हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्”, भीमबहादुरले भन्नुभयो, “अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ ।” मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आउनुभएका (बिजबारे) ५८ वर्षीय लालबहादुर कुमालले बताउनुभयो । महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उहाँले जानकारी दिनुभयो ।    
    
नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उहाँले जानकारी दिनुभयो । यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आउनुभएको छ ।    
    
कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताउनुभयो । “गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्”, उहाँले भन्नुभयो, “पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ । गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन् ।” महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend