Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिका भित्रका बालबालिकालाई आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिका भित्रका बालबालिकालाई आगामी शनिबार र आइतबार  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, बैशाख ४ : चन्द्रागिरि नगरपालिका भित्रका बालबालिकालाई यही बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । सो कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत रहेको छ ।  

  स्वयंसेविका एवं स्वास्थ्यकर्मी मार्फत दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । 

चन्द्रागिरि नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले ६ महिनादेखि पाँच वर्ष मुनिका दशहजार ३७६ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका नौहजार ५०२ बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिनुभयो । यसका साथै नगरपालिकाले ६ महिनादेखि २ वर्ष मुनिका बालबालिकालाई बालभिटा ट््यावलेट वितरण समेत गरिने छ ।
 
यसपटकको बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रमका लागि नगरका १५ वटै वडामा कार्यरत १४९ महिला स्वयंसेविका सहित अन्य स्वास्थ्यकर्मी परिचालन गरिने छ । उनीहरुले बालबालिकालाई पायकपर्ने स्थान, विद्यालय, वडा कार्यालयमा  भिटामिन ए, जुकाको औषधि र बालभिटा ट््यावलेट खुवाउने छन् । बैशाख ६ गते भिटामिन ‘ए’ ,जुकाको औषधि खान छुटेका बालबालिकालाई महिला स्वयंसेविकाले ७ गते आइतबार घर घरमा पुगेर भिटामिन ‘ए’ ,जुकाको औषधि खुवाउने छन् ।    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।  
 
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक रहेको हुँदा आफूलाई पायक पर्ने स्थानमा आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन  आग्रह गर्नुभयो ।

vitamin photo.jpg

 स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो । जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । 

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend