Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

‘बृहत् यौनिकता शिक्षा’को आवश्यकता र औचित्य 


सूचना कुण्ड
‘बृहत् यौनिकता शिक्षा’को आवश्यकता र औचित्य 

–विष्णु नेपाल 
काठमाडौँ :  ‘बृहत् यौनिकता शिक्षा’ को महत्व र आम बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएका छन्  । विद्यालयमा विशेष गरेर स्वास्थ्य विषयको शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ प्रवद्र्धन  र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । विद्यालय र विद्यालयभन्दा बाहिर रहेका किशोर–किशोरीलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, यौन, यौनिकता तथा प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न पनि ‘बृहत् यौनिकता शिक्षा’ ले महत्वपूर्ण सहयोग पुग्न थालेको छ ।

युएनएफपिएका अध्ययनहरुका अनुसार ‘बृहत् यौनिकता शिक्षा’ले किशोर–किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिक जीवनलाई स्वस्थ्यकर बनाउन, एचआइभी, यौन सङ्क्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन मद्दत पु¥याउँछ । साथै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन सहयोग पु¥याउने छ । यसैगरी असुरक्षित यौन सम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, यौनजन्य सङ्क्रमण र यौन अपराधमा समेत कमी ल्याउन ‘बृहत् यौनिकता शिक्षा’ ले कोशेढुङ्गाको भूमिका निर्वाह गर्दछ । 

युएनएड्सले सन् २००६ मा गरेको अध्ययनले ‘बृहत् यौनिकता शिक्षा’ ले ढिलो उमेरमा यौनसम्पर्क राख्ने र अन्य गर्भनिरोधकको प्रयोग बढ्ने देखाएको छ ।  सोही अध्ययनमा लागूऔषध प्रयोगमा कमी र स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना र भेदभावसमेत न्यूनीकरण भएको पाइएको छ ।  

युनेस्कोले सन् २००८/०९ मा गरेको ‘बृहत् यौनिकता शिक्षाले यौनिक व्यवहारमा पारेको प्रभाव’ अध्ययनको निष्कर्षमा भनिएको छ, “यौनिकता शिक्षाको प्रभावले ढिलो उमेरमा यौनसम्पर्क सुरुआत गर्ने ३७ प्रतिशत, यौन सम्पर्क गर्ने सङ्ख्या घटाउँदै लग्ने ३१ प्रतिशत, यौन जोडीको सङ्ख्या घटाउनेमा ४४ प्रतिशत, कन्डम तथा गर्भनिरोधका साधन अपनाउने ४० प्रतिशत, यौनिकतासम्बन्धी जोखिम लिन नचाहने ५३ प्रतिशतले वृद्धि भएको पाइयो ।”

युनेस्कोले सन् २०१६ मा ‘बृहत् यौनिकता शिक्षा’ले बालबालिका, किशोरकिशोरीलाई सक्षम बनाउन निर्वाह गरेको भूमिकाको विषयमाथि गरेको विश्वव्यापी समीक्षामा अधिकांश देशले बृहत् यौनिकता शिक्षाको अवधारणालाई प्राथमिकता दिँदै यसको सक्रिय कार्यान्वयनमा जोड दिनुपर्ने औँल्याएको थियो  । सही र उपयुक्त ज्ञान प्राप्त गर्न, सकारात्मक मनोवृत्ति र सीपहरू विकास गर्न, मानव अधिकार, लैङ्गिक समानता र विविधताको सम्मान गर्न, सुरक्षित, स्वस्थ र सकारात्मक सम्बन्धमा योगदान गर्ने मनोवृत्ति तथा सीपहरूसहित सकारात्मक मूल्यहरू विकास गर्न यौनिकता शिक्षाले सहयोग पुग्ने सो समीक्षाले सुझाव दिएको थियो ।  

संयुक्त राष्ट्र सहायता फ्रेमवर्क (युएनडिएएफ, २०१८–२०२२) मा जनाइएअनुसार अझै पनि बालविवाह, मातृ मृत्युदर र लैङ्गिक हिंसाजस्ता सामाजिक विकासको चुनौती र असमानता कायमै छ । एक अध्ययनका अनुसार देशका विभिन्न १२ जिल्लामा लिङ्ग अनुपात असन्तुलन बढी छ । ती जिल्लामा ‘महिलालाई छोरा नै जन्माउनुपर्छ’ भन्ने उच्च दबाब छ । यसले उनीहरुको स्वास्थ्य र छनोटको अधिकारलाई गम्भीर असरसमेत पारेको छ । 

अर्कोतर्फ ‘नेपालको संविधान २०७२, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५ ’ नियमावली २०७७ ( हाल संशोधनको चरणमा) लगायतले महिला अधिकारलाई सुनिश्चित गरेको छ । लिङ्ग र लैङ्गिकतामा आधारित गैर भेदभाव र लैङ्गिक समानता सुनिश्चित गर्ने संवैधानिक र कानूनी जिम्मेवारीको बाबजुद पनि महिलाले जीवनका विभिन्न पाइलामा भेदभावको सामना गर्नुपर्ने अवस्था विद्यमान छ । 

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ का अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्येक पाँच महिलामध्ये एक जनाले शारीरिक हिंसा अनुभव गरेको पाइएको छ । चार विवाहित महिलामध्ये कम्तीमा १ जनाले श्रीमान्बाट आफ्नो जीवनका अवधिमा शारीरिक, यौनिक वा भावनात्मक हिंसाको अनुभव भोग्ने गरेका छन् । एकतीस प्रतिशत पुरुष उत्तरदाताले श्रीमतीहरूले भनेको नमानेमा पिट्नु स्वीकार्य भएको विश्वास गरेका छन् । हिंसा अनुभव गर्नेमध्ये ६६ प्रतिशतले आफूले भोगेका हिंसा प्रतिरोध गर्न वा रोक्नका लागि कसैको सहयोग खोज्ने वा कसैलाई भन्ने गरेको पाइँदैन । यसैगरी नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार  १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेको सर्वेक्षणमा उल्लेख छ । 

 बृहत् यौनिकता शिक्षाको आवश्यकता 

डा राजेन्द्र भद्राका अनुसार बृहत् यौनिककता शिक्षा भन्नाले यौनिकता सम्बन्धी ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षको सिकाइ प्रक्रिया भन्ने बुझिन्छ । यसले बालबालिका, किशोर किशोरी तथा युवायुवतीको ज्ञान, मनोवृत्ति, सीप र मूल्यलाई सक्षम बनाउँछ । साथै यो उमेर विशेष, सांस्कृतिक रूपमा स्वीकार्य, वैज्ञानिक तथा सूचनामा आधारित, विद्यालयभित्र र बाहिर दिन सकिने पाठ्यक्रममा आधारित शिक्षा हो । पाँच वर्षदेखि आठ, आठदेखि १२, १२ देखि १५, १५ देखि १८ उमेर समूहलाई यस्ता शिक्षाको बढी आवश्यकता पर्दछ ।उहाँका अनुसार जन्मका आधारमा हुने जैविक गुणलाई यौन भनिन्छ । यौनिकता भनेको मानिसको जीवनको केन्द्रीय पक्ष हो । यौन एउटा प्राकृतिक विशेषता हो भने यौनिकता यौनसँग सम्बन्धित सम्पूर्ण भावको अभिव्यक्ति र जीवनशैली हो । 

प्रजनन स्वास्थ्य तथा परिवार योजनाका क्षेत्रमा कार्यरत  जनस्वास्थ्यकर्मी डा भद्राले भन्नुभयो, “यसका आठ अवधारणा छन् । यसमा सम्बन्ध, लैङ्गिकताको बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका सीप, मानव शरीर र विकास, यौनिकता र यौन व्यवहार, यौनिक तथा प्रजनन स्वास्थ्य मूल्य, अधिकार, संस्कृति र यौनिकता पर्छ ।” 

शिक्षा तथा खेलकूद मन्त्रालयल, शिक्षा विभागका निर्देशक तथा सूचना अधिकारी निमप्रकाश सिंह राठौर बालबालिका र किशोर–किशोरीलाई उमेर समूह अनुसारका सिकाइ प्रदान गर्न र समग्र सिकाइ बढाउनबृहत् यौनिकता शिक्षाले सहयोग पुग्ने जानकारी दिनुहुन्छ ।  उहाँले भन्नुभयो, “बृहत् यौनिकता शिक्षाले बालबालिका तथा किशोर–किशोरीको मानसिक, शारीरिक तथा सामाजिक विकासका लागि उमेरअनुसार ज्ञान दिन सहयोग गर्छ । यसैले यस्ता शिक्षालाई विद्यालय तहका पाठ्यक्रममा एकीकृत गर्दै जाने नीति सरकारको छ ।” विद्यालय तहका पाठ्यक्रममा बृहत् यौनिकता शिक्षालाई कुनै न विषयवस्तुका रुपमा समावेश गरिएको विभागको भनाइ छ ।  

विद्यालय क्षेत्र विकास योजना (वि.सं २०७३–७८) मा आधारभूत जीवनोपयोगी शिक्षा र सीपको विकासका अवसरमा सहजीकरण गर्ने उल्लेख छ । यसैगरी विद्यालय शिक्षा क्षेत्रको योजना (२०२१–२०३०) मा  बृहत् यौनिकता शिक्षाको विषयवस्तुलाई  समावेश गरेको छ । दश वर्षे सो योजनाले विद्यालय र विद्यालय बाहिर रहेका सबै किशोर–किशोरी, युवायुवती तथा महिलालाई उमेर अनुसारको यौनिकता शिक्षा दिन थप सहयोग पुगेको अपेक्षा गरिएको छ । 

विद्यमान अवस्था 

हाल कक्षा ४ –८ को पाठ्यक्रममा वृहत्त यौनिकता शिक्षाका विषयवस्तु अनिवार्य स्वास्थ्य, शारिरिक र सिर्जनात्मक कला विषयमा समावेश गरिएका छन् भने कक्षा ९–१२का पाठ्यक्रममा  ऐच्छिक स्वास्थ्य र शारिरिक शिक्षामा समावेश गरिएका छन् । हाल कक्षा ९ र १० मा  ऐच्छिक स्वास्थ्य र शारिरिक विषय  राखिएको भएपनि विसं २०८० देखि अनिवार्य स्वास्थ्य,जनसंख्या, तथा वातावरण शिक्षा विषय भने हटेको छ । यसबाट ठूलो संख्याका किशोरकिशोरी तथा युवाहरु वृहत्त यौनिकता शिक्षाको पहुँचबाट वञ्चित हुुने चुनौती भने अझै कायम रहेको छ । शिक्षक र विद्यार्थीमा रहेको संकोचका कारण पाठ्यक्रममा समावेश गरिएका अधिकांश विषयवस्तु पनि कक्षाकोठाम शिक्षण हुँदैनन । 

तर पाठ्यक्रममा समावेश गरिएका विषयवस्तु किशोर किशोरीको आवश्यकता अनुरुप अपुग भएको , प्रभावकारी नभएको र सहजीकरण गर्न समस्या भएको महसुस गरिएको छ । यो अति संवेदनशील  विषय भएकाले धेरै शिक्षकहरु सकारात्मक सामाजिक मान्यताहरुबाट प्रभावित हुने गर्दछन् । सामाजिक मूल्य मान्यता र सस्कृति अनुकल हुने गरी यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता विषयलाई बृहत्त यौनिकता शिक्षाका रुपमा सबै स्थानीय तह तथा प्रदेशका विद्यालय, उच्च शिक्षा र अनौपचारिक शिक्षामा समावेश गरेर पठन पाठन गर्नु ढिला गरिनुहुन्न ।  

अर्काेतर्फ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीहरूको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । यसैगरी, विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाहरूको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत  किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।  यसमा सानै उमेरमा विवाह, परिवार नियोजनका साधनमा पहुँच नहुनु, यौन तथा प्रजनन स्वास्थ्य तथा बृहत् यौनिकता शिक्षाको कमी देखिन्छ ।

मन्त्रालयका सचिव डा विकास देवकोटा विद्यालय तहमा बृहत् यौनिकता शिक्षा पाएको व्यक्तिले स्वस्थ यौन तथा पारिवारिक जीवन व्यतित गर्न, प्राणघातक एवं सङ्क्रामक रोग, अनिच्छित गर्भधारण, शोषण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहारलाई घटाउन सक्छन् भन्ने पुष्टि भइसेको छ ।  उहाँले भन्नुभयो “‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५ ’ नियमावली २०७७ संशोधनको प्रक्रियामा छौँ। प्रजनन स्वास्थ्यको लक्ष्य हासिल गर्नका लागि महत्वपूर्ण मानिएका छन् ।”

नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. प्रबीण शाक्यका अनुसार नेपालमा बृहत यौनिकता शिक्षाको आवश्यकतालाई मध्ययनजर गर्दै सङ्घले सन् २००८ देखि नै पैरवीको शुरुआत गरेको थियो । र हालसम्म पनि उमेर अनुसारको बृहत् यौनिकता शिक्षालाई विद्यालयका पाठ्यक्रममा समावेश गर्न निरन्तर पैरवी तथा कार्यक्रमहरु गर्दै आएको छ । सङ्घले चेतनामूलक तथा क्षमता विकास अभिवृद्धि कार्यक्रमहरु स्थानीय, प्रदेश तथा राष्ट्रिय स्तरमा आयोजना गरिरहेको छ । कार्यकारी निर्देशक डा. शाक्यका अनुसार हाल स्वास्थ्य तथा जनसंख्या विषय ऐच्छिक विषयका रुपमा पठनपाठन भैरहेको छ । विद्यालयका सबै किशोरकिशोरी तथा युवाहरुको पहँचमा उक्त शिक्षा सुनिश्चित गर्नका लागि यसलाई अनिवार्य विषयकै रूपमा कायम रााखिनुपर्दछ र  सोको पठनपाठनका लागि विधालयमा दक्ष जनशक्तिको उचित व्वस्थापन हुनुपर्दछ । यो संवेदनशील विषय भएकाले र हाम्रा विधमान सामाजिक मान्यताहरू अनि शिक्षक र विद्यार्थीमा रहेको संकोच आदिका कारणले पाठ्यक्रममा भएका अधिकांश विषयवस्तुहरू पनि कक्षामा राम्रोसंग शिक्षण हुँदैनन् । 

सरकार, युएनएफपिए तथा सिसो नेपालले संयुक्तरूपमा तयार पारिएका ‘बृहत्तर यौनिकता शिक्षा शिक्षक स्रोत सामग्री’ का आधारमा शिक्षा विभागले मातहतका शिक्षक तालिम केन्द्रका प्रशिक्षकलाई प्रशिक्षण दिइएको छ । सो स्रोत सामग्रीमा यौनिकता शिक्षासम्बन्धी समग्र पक्षलाई समावेश गरिएको छ । प्रशिक्षित शिक्षक मार्फत बृहत् यौनिकता शिक्षा पाएका किशोरी तथा महिलाले आफ्नो शरीरमाथिको अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि आवश्यक ज्ञान, सीप, प्रवद्र्धन गर्न, महिला हिंसा, विद्यालयमा हुने छात्रा हिंसामा कमी ल्याउन सहयोगी बनेको छ । साथै परिवार योजना र यसका साधनमा पहुँच बढाउन पनि प्रभावकारी माध्यम बनेको छ । 

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदी बृहत् यौनिकता शिक्षाले विशेषगरी किशोर–किशोरी तथा महिलालाई विभिन्न यौन रोग, एचआइभी÷एड्स, अनिच्छित गर्भधारण तथा सानो उमेरमा विवाह हुनबाट रोकावट गर्न सहयोग पु¥याउने जानकारी दिनुहुन्छ  । साथै उहाँका अनुसार यस प्रकारका शिक्षाले विवाह भएपछि मात्र यौन सम्पर्क सुरुआत गर्ने, आफ्नो जीवनोपयोगी सीप प्रयोग गरी समस्या समाधान गर्ने, यौनका विषयमा सही निर्णय गर्ने, मित्रता, माया, प्रेम, प्रणय सम्बन्ध, भिन्नता छुट्याउन सक्ने, धेरै जनासँग यौन सम्पर्क नगर्ने तथा यौन व्यवहारका लागि अरुले दबाब दिँदा यसलाई स्वीकार नगर्न सहयोग पु¥याउँछ । उहाँले भन्नुभयो, “आफ्ना परिवारप्रति जिम्मेवार के हो थाहा पाउने, सञ्चारमाध्यमले यौनिक व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्दछन् भन्ने कुरा थाहा पाउने, सञ्चारमाध्यमलाई सही प्रयोग गर्ने, जानकारी लिनसक्ने, लैङ्गिक समानता कायम गराउन र सुरक्षित यौन व्यवहार गर्न सक्दछन् । सञ्चारमाध्यमको सही प्रयोग गर्न जानेन भने जोखिममा पर्न सकिन्छ भन्ने कुरा थाहा पाउने लगायतका जीवनमा नभई नहुने ज्ञान, सीप, सिक्न पाउने र यौनिकता र यौनिक व्यवहार परिवर्तनका लागि प्रभावकारी देखिएको छ ।”

मधेश , लुम्बिनी र कर्णाली प्रदेशले बृहत् यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्न सुरुआत गरिसकेका छन् । दिगो विकासका लक्ष्य पूरा गर्नमा बृहत् यौनिकता शिक्षा  र कार्यक्रमले सकारात्मक भूमिका निभाउने विज्ञहरूको ठम्याइ छ ।  
.....


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend