काठमाडौँ, फागुन १५ : त्रिशक्ति युवा क्लब, गहना पोखरी, काठमाडौंद्वारा आयोजित एकीकृत स्वास्थ्य शिविरमा मेरी स्टोप्स् इन्टरनेशनलको साझेदार संस्था सुनौलो परिवार नेपालले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (एसिटिक एसिड प्रयोग गरी गरिने भिजुअल इन्स्पेक्सन - VIA टेस्ट) तथा अन्य स्त्रीरोग सम्बन्धी स्वास्थ्य सेवा हालै सफलतापूर्वक सम्पन्न भएको छ ।
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा रोटरी क्लब अफ राजधानीको प्रायोजनमा उपलब्ध गराइएको थियो र अन्य सेवाहरू जस्तै आँखा परीक्षण तिलगंगा आँखा प्रतिष्ठानबाट तथा मृगौला परीक्षण र आधारभूत स्वास्थ्य परीक्षणहरू ग्रीन सिटी अस्पतालबाट प्रदान गरियो। शिविरको मुख्य उद्देश्य समुदायका महिलाहरूलाई प्रारम्भिक पहिचान मार्फत पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा सचेतना अभिवृद्धि गर्नु थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीप्रदीप पौडेललेले स्वास्थ्य शिविरको औपचारिक उद्घाटन गर्नुभयो, जसले सर्वसुलभ स्वास्थ्य सेवामा सरकारको प्रतिबद्धता झल्काएको छ। यस अभियानको एक भागको रूपमा, मेरी स्टोप्स् सेन्टर, पुतलीसडकले VIA परीक्षण संचालनको नेतृत्व गर्दै महिलाहरूलाई प्रारम्भिक पहिचान र रोकथामका लागि आवश्यक सेवा प्रदान गरेको थियो ।
शिविरका क्रममा ९० जना समुदायका महिलाहरूको एसिटिक एसिड प्रयोग गरी गरिने भिजुअल इन्स्पेक्सन (VIA) परीक्षण गरिएको थियो। जसमध्ये ६ जनामा VIA पोजेटिभ देखिएको थियो। ती महिलाहरूलाई परामर्श प्रदान गरेर थप परामर्श तथा उपचारका लागि मेरी स्टोप्स् सेन्टर, पुतलीसडक तथा अन्य उच्च स्तरका स्वास्थ्य संस्थाहरूमा रेफर गरिएको थियो ।
शिविरले विशेष गरी पाठेघरको मुखको क्यान्सर जस्ता स्वास्थ्य समस्यामा समुदाय-आधारित स्वास्थ्य अभियान तथा सहकार्यको महत्त्वलाई उजागर गरेको थियो ।
यस संयुक्त पहलले पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी जनचेतना बढाउने मात्र नभई समुदाय स्तरमै प्रारम्भिक पहिचानको आवश्यकतालाई पनि विशेष रूपमा जोड दिएको छ। साथै, शिविरले मेरी स्टोप्स् सेन्टरलाई स्थानिय समुदायमा उपस्थिति र सेवा विस्तार गर्न मद्दत पुर्याएको छ। हालै सम्पन्न यस शिविरले मेरी स्टोप्स् सेन्टर र यसको सेवाहरूलाई समुदायमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
हामी यस महत्वपूर्ण सामुदायिक सेवाका लागि पहल गर्ने तथा अमूल्य सहयोग प्रदान गर्ने र स्थान उपलब्ध गराउने रोटरी क्लब अफ राजधानी र त्रिशक्ति युवा क्लबलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
