Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

शुक्लाफाँटामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य   


सूचना कुण्ड
शुक्लाफाँटामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य   


कञ्चनपुर ,भदौः २ , शुक्लाफाँटा नगरपालिकामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य रहेको छ । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अवैध रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्यमा झरेको हो ।    
    
 सुरक्षित गर्भपतन सेवाको पहुँच नगरपालिकाको ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार भएपछि असुरक्षित रुपमा गराउँदै आएको गर्भपतनको कार्य रोकिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । “विगतमा असुरक्षित रुपमा सूचीकृत नभएका निजी मेडिकलमा महिलाले गर्भपतन गराउँदै आएका थिए”, उहाँले भन्नुभयो, “असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको प्रजनन अङ्गमा जटिलता देखापर्ने समस्या थियो, अज्ञानताका कारण ग्रामीण क्षेत्रका केही महिलाले जडीबुटीको प्रयोग गरी जोखिमयुक्त तरिकाले गर्भपतन गराउने गरेका थिए ।”    
    
 नगरपालिकाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्भवती महिलाको मञ्जुरीमा सुरक्षित रुपमा सूचीकृत स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्न थालेपछि अवैध रुपमा हुने गर्भपतनको कार्य रोकिएको उहाँको भनाइ छ । उहाँका अनुसार आव २०८०÷८१ मा दुई सय ९२ महिलाले नगरपालिकामा रहेका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएका छन् । त्यसमा २० वर्षमुनिका पाँच र २० वर्षमाथिका दुई सय ८७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।    
    
 गर्भपतनपश्चात् परिवार नियोजनका साधन छोटो अवधिका लागि अपनाउने महिलाको सङ्ख्या एक सय ४६ रहेको छ । गर्भपतनपछि लामो अवधिका लागि परिवार नियोजनाका साधन अपनाउने महिलाको सङ्ख्या १८ रहेको छ । गर्भपतन गराएपछि जटिलता भएका महिला दुईजना रहेका छन् । स्वास्थ्य संस्थामै निःशुल्क रुपमा गर्भवतीको मञ्जुरीमा गर्भपतन सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रदान गर्न थालेपछि सो सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको शाखा प्रमुख भट्टले बताउनुभयो ।    
    
 नगरपालिकाको झलारी, पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी, बन्साहा सहरी स्वास्थ्य केन्द, आधारभूत स्वास्थ्य केन्द्र वनसमिति गरी पाँच स्थानबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ । स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी गर्भपतन गराइँदै आएको छ । गर्भको अवधि ६३ दिन (नौ हप्ता)सम्मको भएमा महिलाको इच्छाअनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिने व्यवस्था स्वास्थ्य संस्थामा रहेको छ । गर्भपतन सेवा प्रदान गरिँदै आएका स्वास्थ्य संस्थामा दक्ष सूचीकृत स्वास्थ्यकर्मी उपलब्ध रहेका छन् ।    
    
 “गर्भवतीको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ”, शाखा प्रमुख भट्टले भन्नुभयो, “गर्भपतनका अतिरिक्त गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार गरिँदै आएको छ ।”    
    
 उहाँका अनुसार कानुनी परिधिभित्र रहेर गर्भपतन गर्न पाउनु महिलाको प्रजनन अधिकारमा पर्दछ । नेपालको संविधान २०७२ ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend