Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

  धान नबिकेपछि झापाका किसान चिन्तित       


सूचना कुण्ड
  धान नबिकेपछि झापाका किसान चिन्तित       

   
बनियानी (झापा), जेठ २९ : गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।    
    
“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उहाँले भन्नुभयो, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उहाँले बताउनुभयो । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहनुभएका उहाँले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिनुभयो     
    
करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गर्नुभएका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गर्नुभएको छ । “सुरुसुरुमा रु एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन रु नौ सय भएको छ”, उहाँले भन्नुभयो । एक बिघाको धान काटेर थुपार्नु भएका उहाँले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताउनुभयो । एक साताभित्र धानको मूल्य प्रतिमन रु तीन सयले घटेको उहाँको भनाइ छ ।    
    
चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।    
    
“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, किसान मिश्रले गुनासो गर्नुभयो, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”    
    
नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको मिश्र बताउनुहुन्छ । गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेका थियो ।    
    
त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि काम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend