Logo
  • २०८३, कात्तिक २गते
  • Oct 18 2026
images

तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला  


सूचना कुण्ड
तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला  

   
    
 सूचनाकुण्ड समाचारदाता  
म्याग्दी, माघ२  : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।    
    
मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी दिनुभयो । “म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ”, उहाँले भन्नुभयो, “धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएका छौँ ।”    
    
धर्मशाला भएपछि महँगो खर्च गरेर होटलमा बास बस्नुपर्ने भक्तजनको समस्या कम हुने महन्थ हिमालय बाबाले बताउनुभयो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाउनुभएको छ ।    
    
महन्थ हिमालय बाबाका अनुसार इन्दिरा आचार्य, भेषबहादुर रावल, अनुप शर्मा, लालबहादुर न्यौपाने र रेणु थापाले एक–एकवटा कोठा बनाउनुभएको छ । भुइँ तलाको सभाहलसहित धर्मशालामा एक दिनमा ५० जनाभन्दा बढी भक्तजन बास बस्न सक्ने क्षमता रहेको छ ।    
    
धर्मशाला र श्रीलक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा यस वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल निर्माण सुरु भएको छ । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गर्न लागिएको हो ।    
    
ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।    
    
नजिकै दुई सय वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, श्रीलक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।    
–––   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend