काठमाडौँ, असोज ३१ : बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइएको फूलपातीसहितको डोलीलाई नेपाली सेनाका डोलेहरूले बोकेर हनुमानढोका दरबार परिसरमा ल्याएका थिए ।
गोरखा दरबारबाट शनिबार बिहान ९ बजे पूजाअर्चनापछि फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो । गोरखा दरबारका नायब सुब्बा हरि सारूका अनुसार दरबारका सुसारेहरूले परम्परागत विधिअनुसार फूलपातीसहितको डोली तयार पारेका थिए । उक्त डोली सरकारी गाडीमार्फत काठमाडौँ ल्याइएको हो ।
मध्याह्न हनुमानढोका परिसरमा आइपुगेको फूलपातीको डोलीलाई सर्वसाधारण तथा आसपासका देवीदेवताको दर्शन गराइएको थियो । सो क्रममा वसन्तपुरस्थित मुख्य दरबारअगाडि नेपाली सेनाको टुकडीले बन्दुक पड्काएर सलामी दिएको थियो । स्थानीय तथा सर्वसाधारणले बाजागाजासहित फूलपातीको स्वागत गरेका थिए ।
त्यसपछि बाजागाजासहित दरबार परिसर परिक्रमा गराएर नेपाली सेनाले तयार पारेको दसैँघरमा फूलपातीसहितको डोली भित्र्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यसअघि गोरखा दरबारको दसैँघरबाट फूलपाती बिदाइ गर्दा बाजागाजासहितको र्याली निकालिएको थियो । परम्परागत विधिअनुसार पूजाअर्चना गरी फूलपातीको डोली बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूल पुजारी राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
हनुमानढोकाको दसैँघरमा भित्र्याइएको फूलपातीलाई विजयादशमीको बिहानसम्म पूजाअर्चनासहित राख्ने परम्परा छ । दशमीका दिन दुर्गा भगवतीलाई फूलपाती चढाएपछि टीका ग्रहण गर्ने समयमा जमरासँगै सर्वसाधारणलाई वितरण गर्ने चलन रहेको छ ।
गोरखा दरबारबाट फूलपाती पठाउने र काठमाडौँको हनुमानढोका दरबारमा भित्र्याउने परम्परा ऐतिहासिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको छ । ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि राजधानी काठमाडौँ सारेसँगै गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपातीसहितको डोली काठमाडौँ पठाउने परम्परा सुरु भएको मानिन्छ ।
यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ । गोरखा दरबारको दसैँघरमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।
