Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर   


सूचना कुण्ड
उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर   


सूचनाकुण्ड समाचारदाता 
बाँके, भदौ२ ः कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्नुहुन्छ । कक्षामा नियमित उपस्थित हुने उहाँको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ ।    
    
 ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बन्नुभएको छ ।    
    
 “हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चीज जीवनमा अरू केही छैन्”, उहाँ भन्नुहुन्छ, “नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ ।” प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसक्नुभएको छ । उहाँका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् ।    
    
 कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा हुनुहुन्छ । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उहाँको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताउनुभयो ।    
    
 “मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुप¥यो”, उहाँले भन्नुभयो, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु ।” नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।”    
    
 आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उहाँको भनाइ छ । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षा कोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताउनुभयो ।    
    
 “कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ”, प्रधानाध्यापक ढकालले भन्नुभयो, “लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेको छ ।” मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिनुभयो । पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताउनुभयो ।    
    
 विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीवार ६१ वर्षीय विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गर्नुभएको छ । उहाँले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।    
    
 प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गर्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend