Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कर्णाली नदीमा पानीको बहाव बढ्दै ः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह   


सूचना कुण्ड
कर्णाली नदीमा पानीको बहाव बढ्दै ः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह   

सूचनाकुण्ड समाचारदाता 
कैलाली, साउन २९ः निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गर्नुभयो । “पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ”, उहाँले भन्नुभयो, “यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।”    
    
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिनुभयो ।    
    
यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिनुभयो ।    
    
वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । “पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ”, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भन्नुभयो, “तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।”    
    
टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताउनुभयो । “नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्”, उहाँले भन्नुभयो, “यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।”    
    
टीकापुर पार्क सीमामा बिग बोल्डर हालिँदै    
    
नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र पारिएको टीकापुर–५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ । नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर ९ठूला ढुङ्गा० हालेर तटबन्ध थालिएको छ । सिँचाइ आयोजनाले ठेक्का लगाएका निर्माण व्यवसायीले तटबन्ध निर्माण नगर्दा बस्ती जोखिममा परेको हो । निर्माण व्यवसायी काममा नआएपछि आयोजना र पालिकाबीच भएको छलफलले आफैँले काम गर्ने सहमतिअनुसार काम थालिएको हो । “बस्ती सखाप हुने जोखिम बढेपछि आइतबारबाट सिँचाइ आयोजना र पालिकाका साधन प्रयोग गरी बिग बोल्डर हाल्न थालिएको छ”, वडा नं ५ का वडाध्यक्ष बलबिर थारुले भन्नुभयो, “यो कार्य निरन्तर जारी रहन्छ, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाबाट ढुङ्गा ल्याएर नदी नियन्त्रणको प्रयास हुँदैछ ।”    
    
सिँचाइ आयोजनाले नदी कटानको जोखिममा रहेका पाँच क्षेत्रमा नदी नियन्त्रणका लागि बिग बोल्डर हाल्न गएको चैतमै ठेक्का लगाएको थियो । अन्य ठाउँका निर्माण व्यवसायीले काम थाले पनि टीकापुर–५ मा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले काम नगर्दा समस्या निम्तिएको आयोजनाले जनाएको छ । “कर्णाली नदीको मुहानदेखि नै जथाभावी नदी उत्खनन गर्दा आज टीकापुर, जानकी पालिका नदी कटानको जोखिममा परेका हुन्”, सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले भन्नुभयो, “हामीले समयमै ठेक्का लगाएका हौँ, पटकपटक अनुरोध गर्दा पनि निर्माण व्यवसायी आएनन्, तत्काल कटान नियन्त्रण गरौँ, बाँकी कार्यालयले निर्माण व्यवसायीलाई कारबाहीलगायतका पक्रिया अघि बढ्छन् ।”    
    
कर्णाली नदीमा बिग बोल्डर हाल्न थालिएपछि स्थानीय ढुक्क भएका छन् । “नदी कटान तीव्र भएपछि केही दिनदेखि त्रासमा थियाँै”, स्थानीय सरोज चौधरीले भन्नुभयो, “नदी फुटेमा कर्णाली नै बस्तीमा बग्ने खतरा छ । पार्क सखाप हुन्छ । टीकापुरका धेरै वडाको पहिचान सकिन्छ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend