Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण   


सूचना कुण्ड
पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण   

सूचनाकुण्ड समाचारदाता  

टीकापुर, साउन २०:    प्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् ।    
    
 टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।    
    
 शिक्षालय प्रमुख पारस खड्काका अनुसार शिक्षालयमा पाँच सय ३३ जना अध्ययनरत रहेकामा दुई सय ५५ महिला र पुरुष दुई सय ७८ जना छन् । जम्मा सङ्ख्या हेर्दा पनि ४७ दशमलव ८ प्रतिशत महिला छन् । “विगतलाई हेर्ने हो भने हाल प्राविधिक विषय छोरीहरुको रोजाइको विषय बनिरहेको छ । पशु विज्ञान पढ्ने छोरीहरु धेरै छन्, अन्य विषयमा पनि महिलाको सहभागिता उत्साहजनक छ”, उहाँ भन्नुहुन्छ, “प्राविधिक विषय पढेपछि बेरोजगार बस्नु पर्दैन । स्थानीय ठाउँमै रोजगारका अवसर छन् । त्यसैले छोरीहरु आकर्षित भइरहेका छन् ।”    
    
 विगतमा पशु विज्ञानमा महिलाको सङ्ख्या कम हुन्थ्यो । पछिल्लो समय छोरीहरुका लागि छात्रवृत्ति कार्यक्रमले पनि थप आकर्षण बढेको उहाँको भनाइ छ । “पछिल्लो समय छोराहरु १२ कक्षा पढेपछि विदेश जान बढी रुचाएको देखिन्छ, अभिभावकमा पनि यस्तै चाहना छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले प्राविधिक विषयमा छोरीहरु बढी हुन थालेका छन् । प्राविधिक विषय अध्ययनमा छोरीहरु बढ्नु राम्रो हो ।”    
    
 टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान अध्ययनरत खेमलता रेग्मी सुरुमा प्राविधिक शिक्षा पढ्नुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो । उहाँलाई प्राविधिक पढ्छु भनेपछि महिलालाई पशु विज्ञान गाह्रो हुन्छ, बाली विज्ञान पढ भनेपछि आफूले पशु विज्ञान नै रोजेको बताउनुहुन्छ । “प्राविधिक विषय पढौँ भन्ने थियो, पशु विज्ञान नै पढ्छु जस्तो लागेको थिएन”, पढाइ सकेर हाल कार्यगत तालिम गरिरहनुभएकी रेग्मी भन्नुहुन्छ, “पशु विज्ञान पुरुष पढ्ने विषय हो भनेपछि मैले चुनौतीका रुपमा यही पढ्न थाले । नसकिने भन्ने छैन । सजिलोसँग पढाइ सकियो । हाल ओजेटिभ गरिरहेकी छु ।”    
    
 कालिका सेकेन्डरी स्कुल गौरीगङ्गा कैलालीमा भेटेरिनरी जेटिए अध्ययनरत सुनिता बडेलालाई उहाँकै अभिभावकले पढ्ने वातावरण बनाउनुभयो । आजभोलि टीकापुर पशु सेवा शाखामा ओजेटिभ गरिरहेकी सुनितालाई उपचारका क्रममा किसानले छोरीहरुले उपचार गर्न सक्छन् र भनी प्रश्न गर्दा राम्रो लाग्दैन । “हामी केटाहरुभन्दा राम्रो उपचार गर्न सक्छौँ तर किसानले पनि हामी छोरीहरुलाई विश्वास कम गरेको देख्दा दुःख लाग्छ”, उहाँ भन्नुहुन्छ, “उपचार गर्दा प्राविधिक छैनन् र भन्छन्, हामीलाई नपत्याएर त होला ।”    
    
 ९ कक्षादेखि ४ वर्षे भेटेरिनरी पशु विज्ञान अध्ययनरत सुर्खेतकी खगिसरा पुनमगरले शिक्षकको सल्लाहमा अध्ययन गर्नुभयो । भविष्य सुरक्षित हुने र पढाइ सक्नेबित्तिकै रोजगारी पाउन सकिने भएकाले उहाँ छोरीहरुले आँटेमा जुन पेसामा पनि सफलता पाउन सकिने बताउनुहुन्छ । “८ कक्षा उत्तीर्ण भएपछि पहिलो पटक विद्यालयमा प्राविधिक विषय पढाइ हुन थाल्यो, शिक्षकले पढ्न हौसला दिनुभयो”, खगीसरा भन्नुहुन्छ, “अब पढाइ पूरा भएको छ । परीक्षा दिएर कार्यगत तालिम गरिरहेकी छु । अब तालिमपछि पशुको उपचार गर्न सक्षम भइन्छ ।”    
    
 खगीसरा पशु विज्ञान पढेकाले अब रोजगारको चिन्ता नभएको बताउनुहुन्छ । “जागिर खान नसके पनि गाउँमै भेटेरिनरी खोलेर, गाउँका वस्तुभाउको उपचार गरेर भए पनि जीवन चल्छ”, उहाँ भन्नुहुन्छ, “पढाइ सकिने बित्तिकै काम गर्न सकिन्छ । यो विषय पढेकामा ढुक्क छु ।”    
    
 भेटरिनरी जेटिए अध्ययनरत निशा चौधरी विगतमा छोराहरुले मात्रै पशुको उपचार गर्न सक्छन् भन्ने समाजको सोचाइ चिर्न जेटिए पढ्न थालेको बताउनुहुन्छ । “जेटिए पढ्नुभन्दा कृषि पढ भन्थे”, उहाँ भन्नुहुन्छ, “मैले यही रोजे, सिक्दै जाँदा उपचार गर्ने प्राविधिक विधि हुन्छ । नसक्ने भन्ने हुँदैन ।”    
    
 टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञान अध्ययनरत कामना चौधरी पनि आजभोलि कार्यगत तालिम गरिरहनुभएको छ । काम छोराको, छोरीको भन्ने नहुने भएकाले परिवारले यो पेसामा आउन प्रेरणा दिएको बताउनुहुन्छ । “अभिभावकले नै यो विषय पढ्न हौसला दिएका हुन्”, उहाँ भन्नुहुन्छ, “मैले पढाइ र कार्यगत तालिममा मन लगाएर सिकिरहेकी छु, पढ्ने बित्तिकै स्वरोजगार भइन्छ ।”    
    
 पशु सेवा शाखा टीकापुरमा प्रमुख श्यामराज पाण्डेलाई आफूहरु पढ्दा १० प्रतिशत मात्र छोरीहरु कक्षामा रहेको सम्झना छ । उहाँ आजभोलि पशु सेवा शाखामा ओजेटिभ गर्नेमा महिला धेरै आउने गरेका बताउनुहुन्छ । “हामीकहाँ ३२ जना विद्यार्थी यतिखेर कार्यगत तालिममा छन् । भेटेरिनरी जेटिए पढेकाहरु ६ महिना र पशु विज्ञान पढेकाहरुले तीन महिना तालिम गर्नुपर्छ । तालिम अवधि एक सय पूर्णाङ्कको हुन्छ”, उहाँ भन्नुहुन्छ, “यसरी तालिम लिइरहेकाहरुमा ७० प्रतिशत छोरीहरु छन् । यो पेसामा अब छोरीहरु धेरै हुनेछन् ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend