Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात


सूचना कुण्ड
नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात

काठमाडौँ, माघ ८ : मुलुकमा नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा (साउन–पुस) आयातनिर्यात दुवै बढेको छ । 

विभागका अनुसार आयात १४.१८ प्रतिशतले बढेर नौ खर्ब ३९ अर्ब २२ करोड ८८ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ रहेको थियो । चालु आवको छ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब १८ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । 

आयातनिर्यात बढ्दा व्यापारघाटासमेत १०.१५ प्रतिशतले बढेर सात खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रहेको थियो । 

समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब ४० करोड ८९ लाख पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा नौ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपियाँ रहेको थियो । आर्थिक गतिविधि बढ्न थालेपछि आयातनिर्यातमा सुधार आएको तथ्याङ्कले देखाएको छ । 

छ महिनामा सबैभन्दा धेरै एक खर्ब ५१ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा ५८ अर्ब २७ करोड बराबरको डिजेल, ३३ अर्ब बराबरको पेट्रोल र २७ अर्ब ४२ करोड रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । 

यस्तै ६६ अर्ब १३ करोड रुपियाँ बराबरको फलाम र स्टिल आयात भएको छ । ६४ अर्ब ९२ करोड बराबरको विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयात भएको छ । ५७ अर्ब ४३ करोड ६२ लाख रुपियाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ । २८ अर्ब ७६ करोड बराबरको अन्नबाली आयात भएको तथ्याङ्क छ । 

यस अवधिमा २३ अर्ब २९ करोड बराबरको स्मार्टफोन र १८ अर्ब ८३ करोड बराबरको सुुन आयात भएको छ । 

विभागका अनुसार नेपालबाट सबैभन्दा धेरै ५६ अर्ब ८२ करोड ४२ लाख रुपियाँ बराबरको सोयाबिन तेल र चार अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपियाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । विभिन्न मुलुकबाट सोयाबिन तेलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुन निर्यात हुने गर्छ । यस्तै सात अर्ब १९ करोड ९५ लाख रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । 

नेपालले विभिन्न १५२ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । तीमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ । 

छ महिनामा भारतबाट सबैभन्दा धेरै पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख ८२ हजार रुपियाँको आयात हुँदा एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख ८८ हजार रुपियाँको निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा भारतसँग चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख ९४ हजार रुपियाँ व्यापार घाटा रहेको छ । 

यस्तै चीनबाट एक खर्ब ९६ अर्ब ९४ लाख रुपियाँको आयात हुँदा ६४ करोड ९१ लाख रुपियाँ निर्यात भएको छ । चीनसँग एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपियाँ व्यापारघाटा रहेको छ । बाढीपहिरोका कारण चीनतर्फका उत्तरी नाका लामो समयसम्म बन्द हुँदा चीनमा निर्यात कम भएको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend