Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कृत्रिम खुट्टा को सहयोगमा विश्वका सात वटै महाद्वीपका अग्ला हिमाल आरोहण


सूचना कुण्ड
कृत्रिम खुट्टा को सहयोगमा विश्वका सात वटै महाद्वीपका अग्ला हिमाल आरोहण

काठमाडौँ, माघ २ :आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ भन्ने कुरो रोल्पाका हरि बुढामगरले साबित गरिदिनुभएको छ । घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका पूर्वगोरखा सैनिक ४६ वर्षीय बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा विश्वका सात वटै महाद्वीपका अग्ला हिमाल आरोहण गरेर बिहीबार स्वदेश  फर्किनुभएको छ । 

सात वटै महाद्वीपका अग्ला चुचुरोमा नेपालको झन्डा फहराउँदै साहस र आत्मविश्वासको सफल प्रदर्शन गरेर फर्किनुभएका उहाँले सपना देखेर मेहनत गरे सफलता पाइन्छ भन्ने साबित गर्दै अपाङ्गता भएका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “मेरो आरोहण चुचुरोमा पाइला टेक्ने मात्रै नभई कसरी हरेक सपनालाई साकार गर्न निरन्तरको प्रयास आवश्यक पर्छ भन्ने उदाहरण पनि हो । यस सफलताले नेपाललाई संसारमा चिनाउने मात्रै नभई  शारीरिक अशक्त व्यक्ति पनि कमजोर हुँदैनन् र जीवनको जस्तासुकै चुनौती जित्न सकिन्छ भन्ने धारणा स्थापित गर्न सफल भएको छु ।”

रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका उहाँ विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडामाथिबाट काटिएको अवस्था) आरोहीसमेत बन्नुभएको छ ।

उहाँले सन् २०२३ को १९ मे मा सगरमाथा, सन् २०२० को ८ जनवरीमा अफ्रिकाको माउन्ट किलिमन्जारो, सन् २०२४ को २८ जुनमा उत्तर अमेरिकाको डेनाली, सन् २०२५ को २२ फेब्रुअरीमा दक्षिण अमेरिकाको एकोनकागुआ, सन् २०१९ को १३ अगस्टमा फ्रान्सको मोन्ट ब्ल्याङ्क, सन् २०२५ को १८ अक्टोबरमा कार्सटेन्ज पिरामिड र २०२५ को ७ जनवरीमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गर्नुभएको हो । स्की, कायाकिङ, ह्विलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटी फुटबल, सिटिङ भलिबललगायतका खेलमा विभिन्न मेडलसमेत जित्नुभएका उहाँ दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउनुहुन्छ ।१५ वर्ष बेलायती सेनामा सेवारत रहेकै बेला सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend