Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर


सूचना कुण्ड
पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर

काठमाडौँ, पुस ३०: देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् । 

राष्ट्रिय जनगणना, २०७८ को ‘नेपालमा शिक्षा र समावेशिता’ विषयक प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गर्दै यो तथ्य देखाएको हो । विद्यालय नजाने र बिचैमा विद्यालय छाड्ने बालबालिकामा सबैभन्दा धेरै भौगोलिक रूपमा विकट जिल्ला र न्यून आयस्तर भएका सीमान्तकृत समुदायमा धेरै देखिएको छ । 

विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर पाँच वर्ष र माध्यमिक तहमा प्रवेश गर्ने उमेर १० देखि १४ वर्षको उच्च रहेको छ । खास गरी कक्षा ५ पछिका वर्षहरूमा विद्यालय छोड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको कार्यालयले औँल्याएको छ । प्रादेशिक रूपमा हेर्दा कहिल्यै विद्यालय नगएका बालबालिकाको सङ्ख्या ६० प्रतिशत रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा भने किशोरावस्थामुनिका बालबालिकाका विद्यालयबाहिरका बाललिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यले मधेशी, दलित भाषिक र अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्ने बताउनुभयो । उक्त समुदायको तुलनामा भने पहाडी जातजाति र जनजातिमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या न्यून रहेको छ । त्यस्तै पाँच वर्षभन्दा माथिका व्यक्तिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । त्यसमा पुरुषको साक्षरता ८३.६ र महिलाको साक्षरता ६९.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

घट्दो सङ्ख्या 

राष्ट्रिय जनगणना २०७८ अनुसार २९ प्रतिशत घरपरिवारमा बालबालिकै नरहेको तथ्याङ्कले देखाएको छ ।  १८ वर्षमुनिका बालबालिका २९ प्रतिशत घरपरिवारमा नरहेको तथ्याङ्क कार्यालयले मङ्गलबारै सार्वजनिक गरेको अर्को नेपालमा बालबालिकाको अवस्था विषयक प्रतिवेदनमा उल्लेख गरिएको छ । ७१ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्रिय जनगणना २०५८ मा बालबालिकाको अनुपात ४६ प्रतिशत रहेकोमा २०६८ मा आइपुग्दा ४२ प्रतिशत र २०७८ सालको जनगणनामा आइपुग्दा बालबालिकाको सङ्ख्या ३४ प्रतिशतमा झरेको छ । नेपालको कुल जनसङ्ख्याको ९८ लाख ६९ हजार ५८३ जना बालबालिका छन्, जुन कुल जनसङ्ख्याको ३४ प्रतिशत रहेको बालबालिका कम हुने तुलनात्मक रूपमा बागमती र गण्डकी प्रदेशमा बढी रहेको छ । घरपरिवारको अनुपातमा बालबालिका सबैभन्दा उच्च कर्णाली प्रदेशमा ८१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा न्यून ६२ प्रतिशत रहेको कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछाने जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend