Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

‘रेडिमेड’ले विस्थापित ग-यो हातले बुन्ने राखी   


सूचना कुण्ड
‘रेडिमेड’ले विस्थापित ग-यो हातले बुन्ने राखी   

पर्सा, भदौ २:  वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्नुहुन्थ्यो । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्नुहुन्थ्यो । समय बितेसँगै अहिले उहाँको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ ।    
    
 बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उहाँ बताउनुहुन्छ । “पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्याैं”, उहाँले भन्नुभयो, “हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं ।”    
    
 उहाँ बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गर्नुहुन्छ । अहिले श्रीवास्तव आफैँ नेपाल–भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहनुभएको छ ।    
    
 यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ । यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ । तराई–मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ ।    
    
 “अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित ग¥यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ ।” उहाँको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ । “अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्”, उहाँले भन्नुभयो, “दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?”    
    
 श्रीवास्तव जस्तै वीरगञ्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहनुभएका नन्दु साह पनि राखीको व्यापार घटेको बताउनुहुन्छ । “पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो ।”    
    
 साहका अनुसार नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ । “अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अर्काेतर्फ वीरगञ्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो ।”    
    
 यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ ।” उहाँका अनुसार वीरगञ्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ ।    
    
 “पहिला–पहिला राखीको व्यापार गर्ने व्यापारी पनि निकै कम हुन्थे, तर अहिले जसले पनि राखीको व्यापार गर्नसक्ने भएकाले पनि बिक्री वितरण घटेको जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ । वीरगञ्ज महानगरपालिका–६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी हुनुहुन्छ ।    
    
 “पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन”, उहाँले भन्नुभयो, “आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ ।” वीरगञ्ज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend