Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

पौरखी मायादेवीले जैविक तरकारी खेतीबाट गरिन् लोभलाग्दो प्रगति


सूचना कुण्ड
पौरखी मायादेवीले जैविक तरकारी खेतीबाट गरिन् लोभलाग्दो प्रगति

भोजपुर, १ असार : भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बन्नुभएको छ । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लाग्नुभएकी उहाँले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहनुभएको छ । उहाँ पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुट्नुभएको हो ।    
    
उहाँले भन्नुभयो, “गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आउनुभएको छु । ” उहाँले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दैै आएको बताउनुभयो ।    
    
“मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।”    
    
विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उहाँको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।”    
    
उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उहाँको बताउनुभयो । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ । कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उहाँको बताउनुभयो । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो।    
    
“हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ” उहाँले भन्नुभयो, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उहाँको भनाइ छ ।    
    
टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।    
    
“हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ । कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend