Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

 नेपालगञ्जमा ईदको रौनक 


सूचना कुण्ड
 नेपालगञ्जमा ईदको रौनक 

   

बाँके, चैत २९: एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् ।    
    
बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो ।    
    
मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।    
    
ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् ।    
    
इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका नेपालगञ्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताउनुभयो । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।    
    
मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । ईदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठूलो र महान पर्वका रूपमा मनाउने गरिएको उहाँको भनाइ छ ।    
    
“एक महिनासम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँचपटक नमाज पढ्नु, नराम्रा कामबाट बच्नु, झुटो नबोल्नु, नराम्रो वस्तु नहेर्नु, त्यस्तो व्यक्तिले ईदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने विश्वास राखेका हुन्छन्”, मञ्जरीले भन्नुभयो, “रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य फर्जका रुपमा रहेको छ । यदि कुनै व्यक्ति एकदमै बिरामी भई व्रत अथवा रोजा बस्न नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनुपर्छ ।”    
    
ईदको अवसरमा नेपालगञ्जका मुस्लिम समुदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका मुस्लिम अगुवा शकील अहमद कादरीले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend