Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै 


सूचना कुण्ड
राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै 

   

कञ्चनपुर, चैत१९ : कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन् । महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ ।    
    
खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री सङ्कलन गरेका छन् । खखडेहरामा पूजा गर्न सात प्रकारको अन्न सङ्कलन गरिएको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रतनलाल रानाले बताउनुभयो । सङ्कलित पूजा सामग्रीलाई राना थारु समुदायले ‘सत्ना’ भन्ने गर्दछन् ।    
    
गाउँको रीतितिथि, संस्कृति बसाल्नका लागि नियुक्त गरेका भलमन्सा, चाकर, भर्रालगायतले गाउँको चौबाटोमा विधि विधानअनुसार पूजा गरी सकेपछि हडिया, खप्टा, घोडाको मूर्ति, दियोलगायत फोडने चलन रहेको राना थारु अगुवा सुग्रिव रानाले बताउनुभयो । “यो कार्यमा गाउँका निश्चित व्यक्ति सहभागी हुने गर्दछन्”, उहाँले भन्नुभयो, “राक्षसी प्रवृत्तिलाई भगाउन जाने भएकाले फोडेर फर्कने क्रममा पछाडि फर्केर हेर्नुहुँदैन, फर्केर हेरेमा सँगै घर फर्कने र अनिष्ट निम्त्याउँछ भन्ने जनविश्वास छ ।” खखडेहरा पर्वको पूजा भने विशेष गरी साँझपख नै गर्ने गरिन्छ ।    
    
 खखडेहरा पर्व प्रत्येक राना थारु समुदायका गाउँ गाउँमा हुने गरेको छ । साँझपख घर घरमा पुगेर फगुवा माग्ने गरिन्छ । फगुवामा गच्छे अनुसारको नगद रकम माग्ने गरिन्छ । फगुवा माग्नेले साँझ रमाइलो गर्दै भोज खाने गर्दछन । साँझपख महिला र पुरुषले परम्परागत शृङ्गार गरी होली खेल्ने गरिन्छ । यो पर्वमा गरिने पूजाले अन्नबाली सप्रने, रोगव्याधि हट्ने, गाउँमा खुशियाली छाउने भन्ने जनविश्वास रहेको पाइन्छ ।    
    
 नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले सामाजिक, सांस्कृतिक र धार्मिक महत्वले भरिएको पर्वका रुपमा राना थारु समुदायले होलीलाई लिने गरेको बताउनुभयो । “राना थारु समुदायको यो महत्वपूर्ण पर्व हो”, उहाँले भन्नुभयो, “यस त्यौहारको अन्तिम दिन मनाइने खखडेहरा पर्वको झनै महत्व छ ।”    
    
 खखडेहरा पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीकाको प्रतीक राखेर राना थारु समुदायले होली प्रारम्भ गर्ने गर्दछन । होलीको प्रतीक स्थापना गरेको एक महिनासम्म राति महिला र पुरुषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ ।    
    
गाउँको दक्षिण पूर्वतर्फ स्थापना गरिएको होलीकालाई पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म राति खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलीका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलगाउने चलन राना थारु समुदायमा रहेको शिवचरण रानाले बताउनुभयो । आठौँ दिनको बेलुका खखडेहरा मनाइन्छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend