Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

 पदयात्रामा मौसमको चुनौती 


सूचना कुण्ड
 पदयात्रामा मौसमको चुनौती 

   
   
गण्डकी, चैत१७ : दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ । एक सातादेखि आकाश धुम्म छ । झरी परिरहेको छ । पदयात्राको याममा पर्यटकलाई मौसमले चुनौती दिएको दिवसको भनाइ छ ।    
    
“मौसम प्रतिकूल हुँदा पदयात्रा सोचेजस्तो रोमाञ्चक भएको छैन । मनसुनमा आएको परिर्वतनसँगै वर्षा हुँदा यात्रामा थप कठिनाइ भएको छ, हिमाल हेर्न पाइएको छैन”, पर्यटक पथप्रदर्शक गुरुङले भन्नुभयो, “आइतबारदेखि मौसम खुल्ने आशामा छौँ ।” उहाँले आधार शिविर पुग्न अझै तीन लाग्ने बताउनुभयो । दोस्रो मुख्य पर्यटकीय याम सुरु भइसक्दा मौसमकै कारण गन्तव्यस्थलमा पर्यटकीय चहलपहल कम देखिएको उहाँको भनाइ छ । पदयात्रामा जाने तयारीमा रहेका कतिपय पर्यटकले यात्रा रद्द गरेको गुरुङले सुनाउनुभयो ।    
    
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले मौसम नखुलेपछि पर्यटक कम आएको बताउनुभयो । “केही दिनयता तुवाँलो मडारिएर हिमाल खुलेको छैन, वर्षा पनि भइरहेको छ, सिजनमा पनि पर्यटकीय चहलपहल कम छ”, उहाँले भन्नुभयो, “बेमौसमको झरीले पर्यटन क्षेत्रमा असर पु¥याएको छ ।”    
    
पुनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल पुग्ने गर्दछन् । ३२ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका दश अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायत दजनौँ हिमाल एकसाथ देख्न सकिने उहाँले जानकारी दिनुभयो ।    
    
पुनले घोरेपानीमा वनपाखा अहिले लालीगुराँसले ढाकेको सुनाउनुभयो । “असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखको गुराँस फूल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्”, उहाँले भन्नुभयो ।     
    
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले मौसम प्रतिकूल हुँदा पदयात्रा पर्यटन क्षेत्र प्रभावित बनेको बताउनुभयो । पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटकको आवतजावत बढिरहेका बेला केही दिनयता भइरहेको वर्षाले पर्यटकीय गतिविधि सुस्त भएको उहाँको भनाइ छ । “अहिले पदयात्राको याम हो, मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्छ”, डा कडरियाले भन्नुभयो ।    
    
गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै पर्यटकको आगमन बढिरहेको उहाँको भनाइ छ । डा कडरियाका अनुसार गत फागुनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।    
    
पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा छ हजार एक सय ७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका कडरियाले जानकारी दिनुभयो । “असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई मुख्य पर्यटकीय याममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्छ”, उहाँले भन्नुभयो, “जाडो र वर्षात्को याममा कम पर्यटक आउँछन् ।”    
    
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृतिलगायत कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ ।    
    
 हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा अन्नपूर्ण क्षेत्र चिनिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।    
    
अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्न उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा समावेश गरेको मुस्ताङ पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ । यसअघि अमेरिकाकै अर्को समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा मुस्ताङ उपत्यकालाई समेटेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend