काठमाडौँ, चैत १७ ः चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । यसक्रममा शुक्रबार वडा नं ६ महादेवस्थानलाई बालश्रममुक्त घोषणा गरियो ।
हालसम्म नगरका विभिन्नपाँचवटा ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १५ वडामध्ये शुक्रबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रममुक्त वडा घोषणा गरिसकिएको छ । यही चैत २३ गते चन्द्रागिरि –७ महादेवस्थानलाई बालश्रम घोषणा गरिने जनाइएको छ ।
नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुरुप बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गर्दै बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले महादेवस्थानमा आज आयोजित कार्यक्रममा ‘बालश्रम मुक्त वडा घोषणा पत्र’ गर्दै बाश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिँदै घोषणा पछिको दीगोपनमा काम गर्नुपर्छ भन्नुभयो । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा ६का वडाध्यक्ष संजय सिग्देल, सामाजिक विकास शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ लगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु , विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागीता रहेको थियो ।
सो अवसरमा चन्द्रागिरि –६का वडाध्यक्ष सिग्देलले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दीगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । यस अगाडि बाजागाज सहितको निस्केको ¥याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , ६ नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रनिधि, विषयगत समिति, विद्यालय, बालक्लव, सञ्चारकर्मी, उद्योग व्यवसायी, संघसस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्र्नुभएको थियो । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छन् ।
