Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

म्याग्दीमा मह सिकार सुरु   


सूचना कुण्ड
म्याग्दीमा मह सिकार सुरु   


म्याग्दी, चैत  १४: जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भिर आएको बताउनुभयो । “बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ”, उहाँले भन्नुभयो, “सातजनाको समूह मह सिकारका लागि निक्लिएका छौँ ।”    
    
 मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।    
    
 वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । दोसल्लेको भिरमा तीन दिनदेखि मह सिकार गरेको दीपकको समूहले ४० लिटर मह निकालेका छन् । प्रतिलिटर रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।    
    
 महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग बढेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend