Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

बाउन्न करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण  


सूचना कुण्ड
बाउन्न करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण  

कैलाली, चैत ८ः कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो ।    
    
 बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्यालय कञ्चनपुरले जनाएको छ ।    
    
 जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काका अनुसार ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ । मोहना र खुटिया नदीमा १२ किलोमिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।    
    
 दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग रु ५२ लाखमा ठेक्का सम्झौता भएको सबइन्जिनियर खड्काले बताउनुभयो ।    
    
 केही प्याकेजको काम पूरा भइसके बताउँदै उहाँले भन्नुभयो, “बाँकी प्याकेजको काम तीव्ररुपमा भइरहेको छ ।” निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम भइरहेको सबइन्जिनियर खड्काले जानकारी दिनुभयो । उहाँले दुवै नदीमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।    
    
 तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । सोही नदीको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर तटबन्ध निर्माण सकिएको जनाइएको छ ।    
    
 मोहना नदीमै पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।    
    
 यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । कृष्णपुर नगरपालिका–१, मोहना नदीमै छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।    
    
 यसैगरी, खुटिया नदीको विभिन्न स्थानमा तटबन्ध निर्माण कार्य जारी छ । सो कार्यालयका अनुसार गोदावरी नगरपालिकाको अर्जुन टोलमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण भइरहेको छ ।    
    
 यसैगरी, गोदावरी नगरपालिकाको धनचौँरीमा एक हजार मिटर र धनगढी उपमहानगरपालिका–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण सम्पन्न हुने क्रममा रहेको सबइन्जिनियर खड्काले जानकारी दिनुभयो । वर्षायाममा मोहना र खुटिया नदी बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती दुवै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्ध निर्माण प्रभावकारी हुने जनाइएको छ ।    
    
 यसैबीच, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित पाँचवटा सामुदायिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ वितरण गरिने भएको छ । नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ग्रामीण भेगका पाँचवटा विद्यालयलाई रु एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गरिने भएको हो ।    
    
 सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय र प्रभावकारी बनाउन उपमहानगरले विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ । स्मार्ट बोर्ड र शिक्षकहरूलाई आवश्यक तालिम दिएपछि ती विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend