Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

चार दशकपछि शुक्लाफाँटामा घडियाल पुनःस्थापन   


सूचना कुण्ड
चार दशकपछि शुक्लाफाँटामा घडियाल पुनःस्थापन   

    
कञ्चनपुर, चैत ३ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो ।    
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताउनुभयो । सङ्कटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन गरिएको जानकारी दिनुभयो ।    
    
“बासस्थापनको पहिचान भएकाले विस्तृत अध्ययनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कात्तिकमा निर्णय गर्दै वरिष्ठ इकोलोष्टि श्यामकुमार साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर चौधर नदी क्षेत्रको १९.०३ किलोमिटर क्षेत्र सर्वेक्षण गरेको थियो”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “सो प्रतिवेदनका आधारमा वन मन्त्रालयले यहाँ गोही चरणबद्धरुपमा छाडने निर्णय गरेको हो ।”    
    
घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ ।    
    
आज बिहान चौधरी नदीमा गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिषचन्द्र राना, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता थियो ।    
    
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिङ्गालगायतका वन्जयन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।    
    
“घडियाल गोही संरक्षण कार्यका लागि चौधर नदी क्षेत्र एवं आसपासका मध्यवर्ती क्षेत्र र स्थानीय सरोकारवालासँग यिनको बासस्थान व्यवस्थापनसम्बन्धी प्रचारप्रसार गरी सङ्ख्या वृद्धि र पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य हो”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “गोही पुनःस्थापनमा सहयोग गर्ने सबै दातृ निकाय एवं सरोकारवाला निकायप्रति आभारी छौँ ।”    
    
उहाँले घडियाल गोही पुनःस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाललगायतका संस्थाको सहयोग रहेको जानकारी दिनुभयो । गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहराले शुक्लाफाँटा प्रचुर पर्यटकीय सम्भावना बोकेको निकुञ्ज भएको बताउनुभयो । “वन्यजन्तुको संरक्षणमा सबैको हातेमालो हुन जरुरी छ”, उहाँले भन्नुभयो, “आज एउटा असल कार्यको थालनी भएको छ ।”    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend