Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ   


सूचना कुण्ड
भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ   


   
म्याग्दी, फागुन २६: सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले ।    
    
 जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ ।    
    
 तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ ।    
    
 बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवं दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताउनुभयो ।    
    
 उहाँका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ ।    
    
 गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ । १६.२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसङ्ख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मङ्गला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।    
    
 “पछिल्लो समय कुहूँ पुख्र्यौंली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ”, वडाअध्यक्ष रोकाले बताउनुभयो ।    
    
 मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उहाँको भनाइ छ ।    
    
 चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अध्याँरो नियतिलाई भोग्न बाध्य भएको छ ।    
    
 यहाँ रहेको १७औं शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जङ्गलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताउनुभयो ।    
    
 उहाँका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ ।    
    
 स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ ।    
    
 सो सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ । सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउनसक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend