Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो


सूचना कुण्ड
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

गलकोट (बागलुङ), फागुन २१: बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।    
    
 महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो ।    
    
दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताउनुभयो । अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उहाँको भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उहाँले बताउनुभयो ।    
    
“धार्मिककार्यमा आएका भक्तजनको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो”, अध्यक्ष शास्त्रीले भन्नुभयो “एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।” ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उहाँले बताउनुभयो ।    
    
पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसक्नुभएको छ ।    
    
साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ ।    
    
जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताउनुभयो ।    
    
पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ ।    
    
महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका-६ का वडाध्यक्ष रुद्र केसीले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend