Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित 


सूचना कुण्ड
वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित 

   
   
कञ्चनपुर, फागुन ७: कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।    
    
बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताउनुभयो । “चितुवाले तीन वटा कुकुर खाएको छ । चितुवा देखिएपछि गाउँभर त्रास छ”, उहाँले भन्नुभयो, “बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन । कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ ।”    
    
चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन् । घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उहाँको भनाइ छ ।    
    
केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहनुभएका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा पर्नुभएको थियो । “चितुवा हो वा बाघ चिन्न सकिन । हेर्दा ठूलै थियो । एक्कासि हातमा झम्टेर सडकको पारीपट्टी झ¥यो”, उहाँले भन्नुभयो, “म मोटरसाइकलबाट लडेँ । फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ ।”    
    
उहाँको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ । कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उहाँ शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्नुहुन्छ । सो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उहाँले बताउनुभयो ।    
    
खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ । सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जङ्गली हात्तीको बथान बस्तीमा देखिएको छ । पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो ।    
    
पुनर्वास–१० मै चितुवा पनि देखा परेको उहाँको भनाइ छ । “हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन् । पुनर्वासमा १३-१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पु¥याएको छ,” उहाँले भन्नुभयो, “बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ ।” उहाँका अनुसार पुनर्वास–१० दोदा नदीको पुल र बेलौरीको भुडामा चितुवा देखिएको यकिन भएको छ ।    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend