Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै


सूचना कुण्ड
उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै

उदयपुर, माघ २८: जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन् ।    
    
 जिल्लाका पहाडी क्षेत्र ताप्ली, उदयपुर गढी, रौतामाई तथा लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विगतमा परम्परागतरुपमा खेती गरिने र उत्पादन हुँदै आएको रैथाने बाली फापर, जुनेलो तथा गहत हिजो आज खेती गर्न छाडिएपछि पाउन नै छाडिएको स्थानिय बताउँछन् ।    
    
 रौतामाई गाउँपाालिका–५ रामेटारका कृषक पदमबहादुर मगरका अनुसार आजभन्दा २०÷२५ वर्ष अगाडिसम्म गाउँमा गहत तथा जुनेलो राम्ररी खेती हुने गरेको थियो । पाँच÷दश वर्षयता आएर यसको खेती नै गर्न छाडिएपछि गाउँघरमा जुनेलो तथा गहत पाउन छाडेको उहाँ बताउनुहुन्छ ।    
    
 रौतामाई–४ डांसिंटारका कृषक नेत्रप्रसाद खत्री भन्नुहुन्छ, “आजभन्दा १५÷२० वर्षअघिसम्म आफुहरुले गाउँघरमा जुनेलो थुप्रै उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेका थियौँ, तर हिजो आज यसको खेती हुन छाडेपछि हामीलाई जुनेलो खान मन लागेमा अन्यत्र टाढा गएर किनेर ल्याउन बाध्य भएका छौँ ।”    
    
 उदयपुरगढी–४ डुम्रेका कृषक नरबहादुर घले मगर रैथाने अन्नबाली गाउँघरबाट लोप हुँदै जानाका कारणबारे भन्नुहुन्छ, “विगतमा हामीहरुले घरबारी जग्गामा गहत, पाखा बारीको चारैतिर जुनेलोखेती गर्ने गरेका थियौं, अब त सबै युवा जती गाउँ छाडेर अन्यत्र जान थाले, गाउँमा यस्तो कठिन खेती कसले गर्ने, बरु जग्गा बाँझै बस्न थाल्यो, यस्तो खेती गर्ने जाँगरिला मान्छे नै गाउँघरमा बस्दैनन् ।”    
    
 गाउँघरमा रैथाने खेती गर्ने बुढापाका भइसकेका र युवा सबै गाउँ छाडेर अन्यत्र गएपछि गाउँमा यस्तो रैथाने खेती गर्ने युवाको अभावमा पनि गाउँघरमा हिजो आज जुनेलो, फापर तथा गहत जस्ता बालीको खेती नै हुन छाडेको ताप्ली–४ पिपलभन्ज्याङका रामबाबु ठकुरी बताउनुहुन्छ ।    
    
 उहाँका अनुसार आजभन्दा १५÷२० वर्ष अगाडिसम्म पनि ओख्ले पिपलभन्ज्याङका पाखाबारीमा जुनेलोखेती हुने गरेका कारण गाउँ नै जुनेलोमय हुने गरेको थियो । जिल्लाका पहाडी क्षेत्रका अधिकांश बारीमा विगतमा अनिवार्य रुपमा जुनेलोखेती हुने गरेको भए पनि हिजो आज हुन छाडेको छ ।    
    
 विगतमा गाउँका पाखाबारी तथा सुक्खाबारीमा अनिवार्य गहत तथा जुनेलो जस्ता अन्नबाली लगाएर उत्पादन गरिने भएको भए पनि हिजो आज युवाहरुले यस्तो खेती प्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन भएपछि रैथाने बाली लोप हुँदै गएको रौतामाई गाउँपालकिकाका उपाध्यक्ष भूपेन्द्र थापा बताउनुहुन्छ ।    
    
 उदयपुरगढीका दनुवार बेसीका कृषक वुद्धिबहादुर तामाङका अनुसार विगतमा गाउँघरमा फापर तथा जुनेलो उत्पादन गरेर अन्यत्र बजारमा लगेर बिक्री गर्ने गरिएको भए पनि हिजो आज खेती नै हुन छाडेपछि आफैँलाई खानका लागि यस्ता अन्नबाली खोजेर पनि पाउन छाडेको छ ।    
    
 जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा जिल्लाको पहाडी क्षेत्रको गाउँघरमा उत्पादन हुने फापर, जुनेलो तथा गहत राम्रो उत्पादन हुने र कृषकले यसको बिक्रीले राम्रै फाइदा लिने गरे पनि हिजो आज यसको खेती नै हुन छाडेको छ ।    
    
 गाउँघरमा उत्पादन हुने अन्य रैथाने अन्नबाली कोदो, कागुनी, जौंसमेत हिजो आज बिस्तारै खेती हुन छाडेका कारण लोप हुँदै जाने अवस्थामा पुगेको रौतामाईका कृषक कृष्णबहादुर आलेमगर बताउनुहुन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend