Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास  


सूचना कुण्ड
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास  

  
   
भोजपुर, माघ २७: सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गर्नुभएको हो ।    
    
 उहाँले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गर्नुभएको थियो । उहाँले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाई थाल्नुभएको थियो । त्यसपछि उहाँले विसं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गर्नुभयो । विसं २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उहाँले जानकारी दिनुभयो ।    
    
 तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा सङ्कलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताउनुभयो । त्यो समयमा यहाँका शिक्षकलाई उहाँले नै तलब दिनुभयो । विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम सङ्कलन गरेर तलब खुवाएको उहाँको भनाइ छ । आफ्ना पिता लघुसिंह तामाङले देखेको सपनालाई पूरा गर्न धेरै दुःख र सङ्घर्षले विद्यालय स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो ।    
    
 “मेरो पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो”, उहाँले भन्नुभयो, “तर उहाँको देहावसान भयो, पिताको सपनालाई साकार पार्न यो काममा जुटे र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेर ल्याएको पैसाले मैले सुरुमा चित्राले बारेर विद्यालय चलाएको थिए, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरुले मलाई थप सहयोग पनि गरे ।”    
    
 विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिएको तामाङले बताउनुभयो । पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्र सूर्य मावि सञ्चालन भइरहेको छ । बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उहाँले बताउनुभयो । “म सामान्य परिवारमा जन्मेको मान्छे हुँ”, उहाँले भन्नुभयो, “तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेको थिएँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढे, काम गर्दै जाने क्रममा अहिले सफल पनि भए, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ ।” सरकारले विद्यालयको स्वामित्व लिएसँगै छ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उहाँले सुनाउनुभयो ।    
    
 तामाङले सुरुआत गरेर सञ्चालन भइरहेको विद्यालयको कोशी प्रदेशका प्रदेशसभा सदस्य विनोद बान्तावाले पनि अनुगमन गर्नुभएको छ । आफ्नो ठाउँको शैक्षिक सुधारका लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उहाँले बताउनुभयो । “समाजका लागि उहाँले गरेको काम उदाहरणीय छ”, बान्तावाले भन्नुभयो, “भारी बोकेर योसम्मको काम गर्नु सामान्य कुरा होइन, यस्ता मान्छेको कामलाई हामीले कदरसँगै अनुसरण गर्न आवश्यक छ ।”    
    
 यो विद्यालयमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताउनुभयो । भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उहाँ बताउनुहुन्छ । “यहाँ विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको छ”, शिक्षक तामाङले भन्नुभयो, “अहिले तीन सयको हारहारीमा बालबालिका बढ्दै आएका छन्, उहाँले पु¥याउनु भएको योगदानलाई समाजले भुल्नु हुँदैन, यो एउटा उदाहरणीय काम हो ।”    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend