Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

हिमपात नहुँदा हुम्ली किसान चिन्तित  


सूचना कुण्ड
हिमपात नहुँदा हुम्ली किसान चिन्तित  

  
सूचनाकुण्ड समाचारदाता
हुम्ला, माघ८ : हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन बढेको हो ।    
    
 पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे । यस वर्ष जिल्लामा दुईपटक मात्रै हिमपात भएको छ । त्यसले किसानमा खासै उत्साह छैन । जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन ।    
    
 मङ्सिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात खासै भएन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ । सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भन्नुभयो, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवती रमाउने गर्थे, तर यस वर्ष त्यसो हुनसकेन, पुस महिना सकिएर माघको आज ८ गते भइसक्यो ।”    
    
 यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेषगरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् । सिमकोट–२ ठेहेका गौगोरा बोहराले भन्नुभयो, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ, विगतका वर्षमा कात्तिकदेखि फागुनसम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।”    
    
 यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् । पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन् ।    
    
 जलवायु परिवर्तनमा आएको असर हुम्लासमेत परेको छ । आकाशमा बादल देखिए हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा दुई–तीन वर्षयतादेखि १० वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छाडेको छ ।”    
    
 हुम्लाका किसानले सोचेजस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायत बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकतापर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् । गर्त वर्ष ढिलोगरी हिमपात र वर्षा भएकाले यस वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।    
    
 जाडोयाममा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताउनुभयो । आवश्यकपर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताउनुभयो ।    
    
 ऐडीले भन्नुभयो, “हुम्लामा १० वर्षअघि जस्तो हिउँ अचेल परेको छैन, मङ्सिरमा दुई पटक पातलो हिउँ प¥यो, केही समयमै बिलायो ।” हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उहाँको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।    
    
 किसान चिसो बढेकोभन्दा पनि हिमपात नभएका कारण खेतमा लगाइएको हिउँदेबाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका उच्च भेगमा हिमपात नहुँदा कृषक पनि चिन्तित बनेका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend