Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

 मातृभाषा सिक्दै कुमाल समुदाय  


सूचना कुण्ड
 मातृभाषा सिक्दै कुमाल समुदाय  

  
  सूचनाकुण्ड समाचारदाता 
दमौली, माघ ७  : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उहाँले कहिल्यै कुमाल भाषा सुन्नुभएको थिएन ।    
    
 “कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन”, कुसमायाले भन्नुभयो, “अहिले भाषा सिक्दैछु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।” आफ्नै भाषा, संस्कृति रीतिरिवाजका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । “हामी त अहिलेसम्म कुमाल भाषा बोलेका छैनौँ, अब सिक्दैछौँ, सिकेपछि जानिहाल्छौँ”, उहाँले भन्नुभयो ।    
    
 सोही वडा निवासी अम्बिका कुमाललाई भने आफ्नो भाषा छ भन्ने नै थाहा थिएन । उहाँले भन्नुभयो, “मलाई त कुमाल जातिको भाषा छ होला र भन्ने थियो, हामी त अहिलेसम्म नेपाली भाषामै बोलिरहेका छौँ, कुमालको पनि भाषा छ भन्ने थाहा पाउँदा खुसी लाग्यो ।” कुमाल भाषा सिकिरहेको बताउँदै उहाँले अब कुमाल भाषामै घरपरिवारमा कुरा गर्ने सुनाउनुभयो ।    
    
 किमलडाँडामा कुसमाया र अम्बिका जस्तै ६० जनाले आफ्नो भाषा सिकिरहनुभएको छ । यहाँका कुमाल समुदाय आफ्नो भाषा संरक्षणका लागि जुटेका छन् । भाषा, संस्कृति विस्तारै हराउँदै गएपछि सुरुमा मातृभाषा सिकाउन थालिएको छ ।    
    
 शुक्लागण्डकीमा विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदाय एकै ठाउँमा जम्मा भएर भाषाको कक्षा लिइरहेका छन् । कुमाल समाज नेपाल नगरकार्यसमिति शुक्लागण्डकीको आयोजनामा शनिबारदेखि १० दिनसम्म भाषा कक्षा सञ्चालन हुनेछ ।    
    
 भाषा संरक्षण कार्यक्रममा अभिभावक र विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत गरी ६० जनाको सहभागिता रहेको कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमालले जानकारी दिनुभयो । तालिममा अर्घाखाँचीका तिलकबहादुर कुमाल र पाल्पाका उषा कुमालले भाषा सिकाइरहनुभएको छ । नगरपालिकाकाले अल्पसङ्ख्यक कुमाल, भुजेल र थकाली समुदायको भाषा संरक्षणका लागि बजेट विनियोजन गरेको थियो ।    
    
 कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् । विसं २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको सङ्ख्या एक लाख २९ हजार सात सय दुई छ । तनहुँमा आठ हजार सात सय २७ जनसङ्ख्या छ भने शुक्लागण्डकीमा तीन हजार सात सय बसोबास गर्छन् ।    
    
 शुक्लागण्डकी–६, ८ र १० मा कुमाल समुदायको बसोबास छ । देशभरका कुमालमध्ये करिब १२ प्रतिशतले मात्रै आफ्नो भाषा बोल्नसक्ने कुमाल भाषाका प्रशिक्षक तिलकबहादुरले जानकारी दिनुभयो । लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालले आफ्नो भाषा बोल्छन् तर बसाइँ सरेर अन्यत्र गएकाले बोल्न छाडेको उहाँको भनाइ छ ।    
    
 राष्ट्र र राष्ट्रियतालाई समृद्ध बनाउन हरेक मातृभाषाको संरक्षण, प्रवद्र्धन र विस्तार हुनु जरुरी रहेको प्रशिक्षक कुमालले बताउनुभयो । उहाँले भन्नुभयो, “भोलिको पुस्ताले आफ्नो मातृभाषा दैनिक व्यवहारमा प्रयोग गर्न यस्ता कार्यक्रम हरेक समुदायमा पु¥याउनै पर्छ, राज्यका तीनै तहका सरकारले स्पष्ट नीति लिए पनि कतिपय स्थानीय तहमा पाठ्यक्रम निर्माणका क्रममा कुनै जातिको बाहुल्यता भएको ठाउँमा पनि मातृभाषामै पुस्तक तयार हुन सकेको छैन ।”    
    
 मातृभाषाकै विद्यालय स्थापना गरी जनशक्ति तयार गर्नुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार देवनागरीकै लिपिमा कुमाल भाषा लेखिन्छ । भारोपेली परिवारको कुमाल भाषा नेपाली र हिन्दीसँग मिल्दोजुल्दो हुन्छ । वाक्य संरचना पनि नेपाली भाषासँगै मिल्दोजुल्दो भएकाले सिक्ने इच्छाशक्ति भएमा सिक्न अप्ठ्यारो नभएको उहाँको भनाइ छ ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend