Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित   


सूचना कुण्ड
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित   


सूचनाकुण्ड समाचारदाता
भोजपुर, पुस ९ : बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।    
    
 यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताउनुभयो । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भइएको उहाँको भनाइ थियोे ।    
    
 “यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ”, राउतले भन्नुभयो, “चिराइतो र यसको बीउ गरेर रु १८ लाखको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन रु ४४ हजारमा बेचेँ अहिले प्रतिमन रु ५० हजारमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ ।”    
    
 यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताउनुभयो । “यस वर्ष चिराइतोको मूल्य बढेको अवस्था छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।”    
    
 टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र रु एक करोड ६५ लाखको चिराइतो उठाएको उहाँको भनाइ थियो । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी राईले जानकारी दिनुभयो । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उहाँको भनाइ थियो ।    
    
 अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताउनुभयो ।    
    
 ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताउनुभयो । “यसको महत्व धेरै छ”, उहाँले भन्नुभयो, “धैरै वर्षको अन्तरालमा चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ । यसले हामी किसानमा थप हौसला मिलेको छ ।”    
    
 एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend