Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग   


सूचना कुण्ड
अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग   

सूचनाकुण्ड समाचारदाता
बागलुङ, पुस ९: आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो ।    
    
 कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाउनुभयो ।    
    
 बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवद्र्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन् । मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउदा अतिथि दङ्ग परेका बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।    
    
 “रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो । औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवद्र्धनका लागि यो निकै राम्रो काको सुरुआत भएको छ । कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौँ ।” उहाँका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो ।    
    
 रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रुपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बागलुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उहाँको भनाइ थियो ।    
    
 “यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ । स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौँ । सुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौँ । अहिले कृषक आफैँ बजारमा साग पु¥याउनुहुन्छ”, गौतमले भन्नुभयो, “बागलुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौँ ।”    
    
 रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ । यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बागलुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताउनुभयो । यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक रू दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उहाँले जानकारी दिनुभयो ।    
    
 “एक वर्षमा रायोको सागमात्रै बिक्री गरेर एउटा किसानले रू तीन लाखसम्म कमाएको तथ्याङ्क छ । बजारमा मूल्य भने स्थिर छैन । अहिले धारापानीबाट एउटा जिपभरी साग मात्रै बजार जान्छ । कहिले धेरै कहिले थोरै मूल्य पर्छ । न्यूनतम रू २० मा एक मुठो बिक्री हुन्छ । व्यापारीले यहाँको साग पोखरा पठाएकोसमेत पाएका छौँ”, किसान थापाले भन्नुभयो, “यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ । एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ । हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो ।” बजारका तीन पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्राण्ड’ बन्दै गएको उहाँले बताउनुभयो ।    
    
 रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ । यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend