Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

 ‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’ 


सूचना कुण्ड
 ‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’ 

 सूचनाकुण्ड समाचारदाता 
स्याङ्जा, कात्तिक  १६: स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उहाँले हालसम्म बिक्री गर्न सक्नुभएको छैन । कागतीले बजार नपाउँदा पौडेल चिन्तित हुनुहुन्छ र्। उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित हुनुभएको हो ।    
    
“गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।”    
    
बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउनुहुन्छ । “कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको उहाँले बताउनुभयो । “दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ”, पौडेल भन्नुहुन्छ ।    
    
पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आउनुभएको छ । उहाँले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाउनुभएको थियो । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाउनुभएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।    
    
आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । “सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ”, उहाँले भन्नुभयो, “कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।” सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उहाँले बताउनुभयो ।    
    
विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उहाँ बताउनुहुन्छ । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । “भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend