Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा 


सूचना कुण्ड
पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा 

   
   सूचनाकुण्ड समाचारदाता  
भोजपुर, कात्तिक ६ : भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकँुडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो ।     
    
 गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।    
    
 खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ । चँुदाराहरुले कलात्मकरुपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायत विभिन्न सामग्री बनाउदै आएका छन् ।    
    
 चिसो, खोला खोल्सीमा बसेर काम गर्नुपर्ने तथा धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँपुस्ताको रोजाइमा नपरेको हो । ठेकी कुदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने भएकाले पछिल्लो समयमा पेसाप्रति लाग्ने मान्छेको सङ्ख्या घट्दै गएको हो ।    
    
 विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि पछिल्लो समयमा सङ्ख्यासमेत घटेको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । दूध जमाउने ठेकीबाहेक मोही पार्नै ठेकी, कोसी, आरी खुर्पेटा कुदेर चँुदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ ।    
    
 काम गर्ने प्रविधिले आधुनिकता नपाउदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदाराहरुको भनाइ छ । धेरै मेहनतले खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिकोपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको लामो समयबाट चँुदारा पेसा गर्दै आएका टेम्केमैयुुङका रत्नबहादुर विश्वकर्माले बताउनुभयो ।    
    
 “पुस्तान्तरण हुनसक्दा पुख्र्यौली पेसा सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले यो काम गर्न चाहदैन् । यसलाई नयाँ पुस्तासम्म पु¥याउन संरक्षण गर्न आवश्यक छ ।”    
    
 काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहर लगाएत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताउनुभयो । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उहाँले बताउनुभयो ।    
    
 आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँपुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिदैन् । पेसा जोगाउन नै समस्या छ । राज्यले यसलाई संरक्षणमा भूमिमा खेल्न आवश्यक छ ।”    
    
 हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चँुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताउनुभयो । “परम्परागतरुपमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ ।”    
    
 पेसालाई जोगाउन नयाँपुस्तालाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विश्वकर्माले बताउनुभयो । “यो सीपलाई विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यकोतर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण बन्यो भने पेसालाई जोगाउन सकिन्छ ।”    
    
 परम्परागतरुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो हट्दै गएको छ । बजारमा स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै देखिन्छ ।    
    
 पराम्परागतरुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने टेम्कैमैयुङ–५ का स्थानीय रामबहादुर विष्टले बताउनुभयो । गाउँघरमा मात्र हुने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।    
    
 स्वास्थ्यका लागि पनि काठका भाडा फाइदाजनक हुने स्थानीयवासीको भनाइ छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend