Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’


सूचना कुण्ड
म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

    
सूचनाकुण्ड समाचारदाता
म्याग्दी, असोज १८ः म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा ( हाब्रे) भेटिएको छ ।    
    
धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिच्नुुभएको हो । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो, रेडपाण्डा संरक्षणको कार्यक्रम , चोरी शिकारी नियन्त्रण , जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो । ”    
    
म्याग्दीमा यसअघि दुुर्लभ वन्यजन्तुु रेडपाण्डाको देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आउनुुभएका बद्री बरालले म्याग्दीको भूूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिनुभयो ।    
    
“हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो”, उहाँले भन्नुुभयो, “सुुवास थापाले जललला क्षेत्रको जङ्गलमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुुष्ट्याइ गरेको गरेको छ ।”    
    
लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।    
    
अनुसन्धानकर्ता बद्री बरालले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देख्नुुभएको थिएन ।    
    
रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयवासीसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।    
    
रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भए पनि देखिएका थिएनन् ।    
    
गुर्जा र लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ र मुुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।    
    
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौँ”, उहाँले भन्नुुभयो, “रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।”    
    
रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।    
    
रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।    
    
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।    
    
रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु पाँचलाखदेखि रु दशलाख जरीवाना , पाँचदेखि पन्ध्रवर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।    
    
विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा रहेको छ । नेपालको २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend