Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ  


सूचना कुण्ड
जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ  

  
    सूचनाकुण्ड समाचारदाता 
स्याङ्जा, असोज १६ः स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नैपर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिनुभयो ।    
    
 उहाँले आवश्यक शैक्षिक सामग्री, प्रयोगशाला, ल्याब, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, स्मार्ट बोर्डसहित व्यवस्थापन गरिएको विषय शिक्षकको कार्यकक्षमा विद्यार्थी अध्ययनका लागि जाने गरेको बताउनुभयो । प्रधानाध्यापक न्यौपानेले एकदेखि कक्षा तीनसम्म ग्रेडिङ प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप भएको भन्दै चारदेखि कक्षा १० सम्म प्रविधिको उच्चतम प्रयोगसहित शिक्षण सिकाइ क्रियाकला सञ्चालन भएको बताउनुभयो ।    
    
 “हामीसँग पर्याप्त कक्षा कोठा भएकाले सबै विषय शिक्षकको प्रविधि जडित आवश्यकताअनुसार प्रयोगशाला र शैक्षिक सामग्री राखेर आ–आफ्नै कार्यकक्ष बनाइएको छ”, उहाँले भन्नुुभयो, “चार कक्षा देखि १० कक्षा सम्मका सबै विद्यार्थी घण्टीअनुुसार विषय शिक्षककहाँ गएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।”    
    
 शान्त वातावरण, रमणीय दृश्य, उचित खेलमैदान, शुद्ध पिउनेपानी, शौचालयको राम्रो व्यवस्था र प्रविधिको अधिकतम प्रयोगले विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ । उहाँले यो विद्यालयमा गत आर्थिक वर्षमा ‘आइसिटी कार्यक्रम’ योजनाका लागि छनोट भएर कार्यक्रम लागू भएको बताउनुुभयो । यो विद्यालय ५६ वर्ष पुुरानो हो भने यहाँ हाल १८ शिक्षक तथा कर्मचारी कार्यरत छन् । एक सय ४० विद्यार्थी अध्यनरत यस विद्यालयमा चार हजार पुस्तकसहितको पुस्तकालयसमेत छ ।    
    
 सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा तुलसी तिवारीले विद्यालयमा नयाँ शिक्षण सिकाइ पद्धति सुरुआत भएपछि आफुलाई पढाइप्रति जाँगर चल्दै गएको बताउनुभयो । उहाँले आफूले नजानेका विषयवस्तु शिक्षककै कार्यकक्षमा बसेर कम्प्युटरमा खोज्न पाउँदा ऊर्जा मिल्ने गरेको बताउनुभयो । “गणित विषयको सन्दर्भ सामग्री पर्याप्त छैन, त्यसलाई बढाए हामीलाई सहज हुने थियो”, तिवारीले भन्नुुभयो, “साना कक्षाका भाइबहिनीहरूका लागिसमेत उच्च प्रविधि पर्याप्त शैक्षिक सामग्रीसहित पढाउन आवश्यक छ ।”    
    
 अभिभावक चोकलाल तिवारीले प्रविधिको अधिकतम प्रयोग गर्ने विद्यालयको प्रयासले अभिभावकमा नयाँ आशा जगाएको बताउनुभयो । उहाँले शिक्षककै कोठामा गएर पढ्नुपर्ने नियमका कारण आफ्ना छोराछोरीमा सिर्जनशीलता र क्रियाशीलताको विकास भएको बताउनुभयो । उहाँले जिल्लाका उत्कृष्ट विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नमुना र शैक्षिक स्तर राम्रो भएका विद्यालयहरूमा गएर यहाँका शिक्षकहरूलाई सिक्नसमेत सुझाव दिनुभयो ।    
    
 विद्यालयका शिक्षक प्रकाश न्यौपानेले बढ्दो बसाइँसराइका कारण गाउँ खाली भएको अवस्थामा प्रविधिको प्रयोगसहितको यो पद्धतिले विद्यार्थी टिकाउन सहज भएको बताउनुुभयो । उहाँले विद्यार्थी शिक्षकको कोठामा अध्ययन गर्न आउने परिपाटीले शिक्षक र विद्यार्थीबीच आत्मीयता, सद्भाव, सिर्जनशीलता र रुचिको विकास भएको दाबी गर्नुभयो ।    
    
 जिल्ला शिक्षा समन्वन एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले स्याङ्जामा ‘आइसिटी’को प्रयोग गर्ने विद्यालयहरूको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोग गरेका यहाँका विद्यालयहरूबाट सकारात्मक नतिजासमेत आइरहेको दाबी गर्नुभयो । “प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विद्यार्थीमा देखिएको गलत आचरण र व्यवहार हटाउनसमेत हामीहरू प्रयासरत छौँ”, प्रमुख आचार्यले भन्नुुभयो, “विद्यार्थीले प्रविधिको गलत प्रयोग गर्न सक्ने सम्भावनासमेत रहने हुँदा अभिभावकलाई पनि चनाखो हुन सुझाव छ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend