Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’ 


सूचना कुण्ड
घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’ 

   
सूचनाकुण्ड समाचारदाता 
कास्की, असोज १० : विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन ।    
    
गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बन्नुभयो, घान्द्रुकका शङ्करमान गुरुङ । विसं २०२६ मा उहाँलेले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थाल्नुभएको थियो । अङ्ग्रेजी विषय पढाउने उहाँलाई भाषा नआउने कुरै भएन ।    
    
विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उहाँले नै गर्नुभयो । त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्ततः शङ्करमान आफैँले घरमा पाहुना राख्ने निधो गर्नुभयो । समयक्रमैसँगै जन्मिएको थियो, उहाँको होटल मिलन । “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटन बाटोमा भेटिन्थ्यो”, शङ्करमान २०२६ सालतिको कुरा सम्झनुभयो, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।”    
    
घरमै सेवा दिँदा सुरुमा त आफूले सित्तैमा राखेको उहाँ सम्झनुहुन्छ । “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन”, उहाँले सम्झनुभयो, “बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरू आफैँले अलि–अलि पैसा छाडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।”    
    
होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उहाँले सम्झनुभयो । “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे”, शङ्करमानले भन्नुभयो, “मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन् ।”    
    
त्यो समय एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा थियो । घान्द्रुकका होटल व्यवसायी शङ्करमान गुरुङले पनि यो ‘रेट’ लिने गर्नुहुन्थ्यो । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर शङ्करमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।    
    
सन् १९५० जुन ३ अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पुनः आकर्षणको केन्द्र बन्न थाल्यो । “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे”, शङ्करमानले भन्नुभयो, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरूलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।”    
    
घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो । तर शङ्करमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहनुभयो । उहाँले पाहुनालाई साथीको व्यवहार गर्नुभयो । सोही कारण पनि उहाँको पर्यटकसँग पुरानो सम्बन्ध छ । एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शङ्करमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिङ्गापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन् ।”    
    
अठहत्तर वर्षीय शङ्करमान उमेर ढल्किँदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा हुनुहुन्छ । “काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसक्ने अवस्थामा पुगेको छु”, उहाँले भन्नुभयो, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु ।” सुरुमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उहाँलाई अहिले खुसी लाग्छ ।    
    
“सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ”, शङ्करमानले भन्नुभयो, “मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु । अहिले कोठाको रु एक हजार दुई सय, खानाको दालभातको पाँच सय ५० चियाको रु ७० भएको छ ।” घान्द्रुकमा होटलका पायोनियर शङ्करमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ ।    
    
शङ्करमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । विक्रमका अनुसार घान्द्रुकका करिब तीन सय घरधुरीमध्ये एक सय पाँचमा विभिन्न व्यवसाय सञ्चालित छ । जसमा ५५ होटल, १८ होमस्टे (घरबास) र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी सात सय २० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend