Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पुष्पा र अञ्जली कोशी पठाइँदै


सूचना कुण्ड
पुष्पा र अञ्जली  कोशी पठाइँदै

    
सूचनाकुण्ड समाचारदाता 
चितवन ,  असोज ९ :  चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् ।    
    
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उहाँले भन्नुभयो, “शीतल दिन भयो भने चाँडै नै पठाउँछौँ, गर्मी भयो भने पनि २ बजेभित्र पठाउँछौँ ।” दुई वटा खोरमा अलगअलग राखेर गैँडा पठाइँदैछ ।    
    
गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी जानेछ । वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी जानेछन् ।    
    
बुधबार गैँडालाई कोशीमा पु¥याएर खुल्ला खोरमा राखिने छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लान लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।    
    
सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडा राखिँदै छ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरेर छोडिने छ ।    
    
केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो ।    
    
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ ।    
    
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन् । ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडा पठाउन लागिएको पुनले बताउनुभयो । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ ।    
    
निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा गैँडा पठाइएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend